Logo

११ महिनापछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त



काठमाडौं, साउन २७ । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् ।

घिसिङ प्राधिकरणबाट २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका थिए । सोमबारको बसेको मन्त्रिपरिषद्‌ बैठकले घिसिङलाई नियुक्ती गरेको हो ।

उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट मंगलबार साँझ ऊर्जा मन्त्रालयमा पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्ताव मन्त्रीपरिषद्ले पास गरेपछि घिसिङ कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने सर्तमा आयोगमा पठाईएको हो ।

कार्यकारी प्रमुख शाक्यले मंगलबार प्राधिकरणमा पुगेर विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिईसकेका छन् । प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्य गरेसँगै चर्चामा आएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहो¥याउनुपर्ने चर्को दबाबबीच पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई दोहो¥याएको थिएन ।

तर, नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच सहमति भएपछि धिसिङको नियुक्ती प्रक्रियाले पूर्णता पाएको हो ।

अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उनी अझ चर्चामा आएका थिए । नवनियुक्त घिसिङले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot