Logo

नेतृत्व हत्याउन देउवालाई सकस



काठमाडौं, भदौ १४ । १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु एकपछि अर्कोले देउवालाई छोड्दै गएका छन् ।

मुख्य गरी कांग्रेसभित्र सभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष गरी तीन गुट सक्रिय थियो । देउवा पक्षका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी तयारीका गतिविधि अगाडि बढाएसँगै पार्टीभित्र चौथो गुट पनि बन्दै गएको छ । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ ।

संस्थापन पक्षइतरका वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, १३औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य विजयी भएका नेता डा शेखर कोइरालालगायतका शीर्ष नेताले आफूहरु एकढिक्का भएर नेतृत्वका लागि साथ दिँदै देउवालाई नेतृत्वबाट हटाउने रणनीति बनाइरहँदा आफ्ना मुख्य सारथी निधि गुटबाट बाहिरिएपछि देउवालाई थप संकट उत्पन्न भएको हो ।

निधि बाहिरिएसँंगै १४औं महाधिवेशनमा अन्य प्रभावशाली नेता ज्ञानेन्द्रवहादुर कार्की, एनपी साउदलगायतका नेताहरुको साथ पनि देउवाले नपाउने निश्चित छ । अघिल्लो अधिवेशनमा देउवालाई साथ दिँदै महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले पनि यो अधिवेशनमा देउवालाई साथ नदिने निश्चित छ । केन्द्रीय सदस्य केसी पनि अहिले वरिष्ठ नेता पौडेल पक्षमा रहेर देउवालाई नेतृत्वबाट हटाउने गतिविधिमा संलग्न छन् ।

यता तेस्रो गुटको नेतृत्व गरिरहेका सिटौला पनि आफै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । सिटौला गुटभित्र उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाईं, गगनकुमार थापाजस्ता प्रभावशाली नेता छन् । महाधिवेशनमा सिटौला गुटको राणनीति के हुन्छ भन्नेबारेमा भने अझै प्रस्ट भइसकेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot