Logo

प्रदेश २ मा लोसपालाई प्रतिष्ठा बचाउनै धौ धौ परेको छः मुख्यमन्त्री राउत



काठमाडौं, भदौ २० ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा जनता समाजवादी पार्टी नै बलियो भएको दाबी गरेका छन् । लोसपालाई प्रतिष्ठा बचाउन धौ धौ परेको उनको टिप्पणी छ ।
आज  बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “प्रदेश २ मा जसपा र लोसपाबीच तुलना नै हुँदैन । को बलियो र को कमजोर भन्ने कुरा नै छैन । गत निर्वाचनमा प्रदेश सभामा हाम्रातर्फबाट जितेका ३० जना थियौं, अहिले ३९ सांसद भएका छौं । हाम्रा तर्फका प्रल्हाद गिरीबाहेक अरु कोही गएन । उताका अध्यक्षमण्डलमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादव हामीसँगै आउनुभयो । उताका तीन जना क्याबिनेट मन्त्रीमध्ये दुई जना हामीसँगै हुनुहुन्छ । जनकपुरको मेयर हामीतिरै हुनुहुन्छ । हाम्रा तर्पmका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि उता गएका छैनन् । नांगो आँखाले हेर्दा पनि थाहा हुने कुरामा किन बुझ पचाउने ?”
तपाईंहरु पार्टी फुट्दा पनि खुसी हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा मुख्यमन्त्री राउतले थपे, “हो, हामी एकै ठाउँमा बसेर चुनाव लड्दा प्रदेश सरकार बनायौं । वैकल्पिक शक्ति दिन सक्ने सम्भावना पनि थियो । तर, उहाँहरु केपी ओलीको विगतका सारा उपलब्धि समाप्त पार्ने कर्तुतका भागीदार भन्नुभयो । उहाँहरु मधेसका एजेन्डा भन्दै सरकारमा सामेल हुनुभयो, के कसैको मुद्दा फिर्ता भयो ? कति जनाले नागरिकता पाए ? संघीयता र अधिकारको कुरा सुन्न नचाहने ओली कसरी मधेसका हिमायती भए ? त्यो गलत निर्णयको मधेसले मूल्यांकन गर्छ । राजनीति घाटानाफा होइन, कुनै व्यवसाय पनि होइन । नीति, विचार र सिद्धान्त हो ।”

मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी छिट्टै तोकिने पनि बताए । उनले भने, “अब सदन खुलेपछि नाम र राजधानीका विषयमा प्रवेश गर्छौं । अहिले प्रदेश २ मा जसपा, माओवादी, कांग्रेससहितको सरकार छ । जसपाको एजेन्डा मधेस प्रदेश हो । अस्थायी राजधानी जनकपुरमा छ । अब के गर्ने भन्ने विषयमा हामी सबैसँग छलफल गछौं ।” उनले आगामी निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पछि तय हुने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot