Logo

भीड गर्न सरकारमा जाँदैनौं, माग पूरा नभए समर्थन फिर्ता लिन्छौंः कर्ण



काठमाडौं, असोज २० । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका माग पूरा नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै नेता कर्णले भने, “हामीले मन्त्री देऊ, सरकारलाई समर्थन गर्छौं भनेका थिएनौं । तर माग पूरा गर भनेका थियौं । सरकारले के गर्छ, हेर्न बाँकी छ । माग पूरा नभए हामीले किन समर्थन गर्ने ? फिर्ता गर्छौं ।”

प्रधानमन्त्री देउवालाई सरकारका जानका लागि नभेटेको पनि उनले दाबी गरे । उनले थपे, “मन्त्रीका लागि प्रधानमन्त्रीलाई भेटेका छैनौं । मन्त्री नखाने कसम पनि खाएका छैनौं । अहिले चार दललाई नै भागबन्डा पुगेको छैन । हामी भीड गर्न किन जाने ? “

मधेसमा आफ्नो पार्टी सबैभन्दा ठूलो भएको पनि नेता कर्णले बताए । उनले भने, “दुईचार जना मन्त्री हुँदैमा या बजार लाग्दैमा ठूलो पार्टी हुने होइन । हामी त्यसका लागि लडेका होइनौं । केपी ओलीजीले पटक पटक भन्दा पनि सरकारमा गएका थिएनौं । भूतले खाजा खाने समयमा गयौं । हामी यस किसिमको गल्ती कहिले पनि गर्दैनौं ।”

उनले ओलीसँग गठबन्धन बनाउने कुनै तयारी नभएको पनि बताए । उनले भने, “हामी जनतालाई भेटिरहेका छौं, जनताको समस्या समाधान गर्न चाहिरहेका छौं । पार्टी एकता भए पनि हाम्रो पार्टी समायोजन भएको थिएन, जहाँको तहीँ थियो । हामीसँग उपेन्द्रजीबाट केही मान्छे आएका छन् । हाम्रा मन्त्रीको लोभ गर्ने केही सांसद बाहेक उपेन्द्रजीकहाँ कोही गएको छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot