Logo

खाँणलाई काँग्रेस राजनीतिमा बढाउने देउवाको संकेत



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई झण्डै तीन महिनामा पूर्णता दिंदा आफूपछिको वरियतामा कस्लाई राख्लान् भन्ने चासो थियो । उपप्रधानमन्त्री बन्न काँग्रेसलगायत सत्ता गठबन्धनका दलका नेताहरुबीच रस्साकस्सी थियो । तर, देउवाले उपप्रधानमन्त्री नबनाउने निर्णय लिएर धेरैलाई रोकिदिए ।

देउवाले आफूपछि वरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । काँग्रेसका हस्ती नेताहरु कोही सरकारमा सहभागी हुन मानेनन् त कोही इच्छा हुँदा हुँदै रोकिए । जसका कारण खाँणले बाजी मारे ।

काँग्रेसको राजनीतिमा जुझारु नेताको परिचय बनाएका खाँण नेपाल तरुण दलका पूर्व अध्यक्ष पनि हुन् । रुपन्देहीलाई राजनीतिक क्षेत्र बनाउँदै आएका उनी युवापंक्तिमा पकड बनाउँदै आएका छन् । देउवाले त्यसकारण पनि उनको साथ लिने र गृहमन्त्रीका रुपमा उनको क्षमताबाट लाभ लिन खोजेका छन् ।

खाँणलाई काँग्रेसको राजनीतिमा अगाडि बढाउने गरी देउवाले संकेत समेत गरेका छन् । उनी १४औं महाधिवेशनमा महामन्त्रीका सम्भावित उम्मेदवार हुन् । देउवाले सभापतिमा उम्मेदवारी दिए खाँण महामन्त्रीका रुपमा अगाडि बढाइने आँकलन गरिएको छ । उनलाई मन्त्रिपरिषदमा दोस्रो वरियतामा राखेर देउवाले यस्तै संकेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्