Logo

ज्ञानेन्द्रको विषयले ओली-प्रचण्ड वाकयुद्ध



काठमाडौं, १ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आरोप प्रत्यारोप चलेको छ । यो पटक यी दुईबीच पूर्व राजा ज्ञानेन्द्र शाहको विषयले आरोप प्रत्यारोप चलेको हो ।

ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन सशस्त्र जनयुद्ध गरेको प्रचण्डबीच १८ वर्ष अघि एउटा सहमति भएको सनसनीपूर्ण अभिव्यक्ति दिए, त्यो पनि तिथि मिति तोके । १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको दाबी पूर्वप्रधानमन्त्री ओलीले गरे । त्यतिबेला ज्ञानेन्द्र शाह सक्रिय शासनमा थिए । प्रचण्ड सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको नेतृत्वमा थिए ।

त्यतिबेला माओवादीबाट राष्ट्रवादी शक्तिसँगको सहमतिको विषय आउने गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र निकटस्थले माओवादीलाई राष्ट्रवादी शक्ति भन्दै सामिप्यता बनाएका थिए । दरबार र माओवादीबीच सहमतिको पहल समेत भएको चर्चा चलेको थियो । माओवादीलाई साथमा लिएर दरबार अगाडि बढ्ने रणनीति समेत बनेको थियो । त्यो पछि असफल भयो ।

माओवादीले त्यतिबेला देखि नै राजनीतिक दल देखि राजासम्मलाई प्रयोग गरेको चर्चा चल्यो । यतिसम्मकी विदेशी शक्तिलाई समेत माओवादीले प्रयोग गरेको चर्चाहरु चले ।

प्रचण्डले ओलीमाथि राजतन्त्र फर्काउन खोजेको आरोप लगाउन थालेपछि आक्रामक अभिव्यक्ति आएको हो । त्यसको प्रतिकार प्रचण्डले शब्दमार्फत नै गरेका छन् । उनी पार्टीको राजनीतिक प्रतिवेदन तयार गर्न एकान्तवासमा रहँदा ओलीले आक्रामक अभिव्यक्ति दिए । आज विहानै प्रचण्डले पनि कडा चुनौती दिए ।

प्रचण्डले ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर्न चुनौती दिएका छन् । प्रेस वक्तव्यमार्फत् प्रचण्डले ओलीलाई उक्त आरोप प्रमाणित गर्न नसके जनतासँग झुट बोलेकोमा माफी माग्न चुनौती दिएका छन् ।

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमतिलाई शत प्रतिशत झुटो प्रचार भनेका छन् । उनले ओलीले दरिद्र राजनैनिक चरित्र प्रदर्शन गरेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot