Logo

गहुँलाई मल छैन, धान किन्न पौने १२ अर्ब



काठमाडौं, पुस १४ । समयमै मल खरिद नहुँदा यो सिजनमा किसानले गहुँ बालीमा रासायनिक मलको अभाव झेले। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले रासायनिक मल आपूर्तिमा कठिनाइ भएपछि किसानले पाएनन्।

गहुँ बालीका लागि मल नपाएका किसानले आगामी सिजनको धानका लागि पाउने संकेत देखिएको छ। सरकारले आगामी सिजनको धानका लागि रासायनिक मल किन्न थप बजेट व्यवस्था गरेको छ।

अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

अर्थले मंगलबार कृषि मन्त्रालयमा स्रोत सुनिश्चित गरेको पत्र पठाएको छ। यो बजेटबाट करिब एक लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने मन्त्रालयको योजना छ। चालु आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले १५ अर्ब रूपैयाँ बजेट विनियोजन गरे पनि मूल्य वृद्धिले बजेट नपुग भएपछि थप बजेटको व्यवस्था गरेको हो।

मन्त्रालयले थप १२ अर्ब रूपैयाँ बजेट माग गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य करिब तीन गुणा बढीले वृद्धि हुँदा बजेट अपुग भएको हो।

थप बजेटबाट करिब एक लाख मेट्रिक टन रासायनिक मल खरिद प्रक्रिया तुरुन्त अघि बढाउने प्रवक्ता सञ्जेलले बताए। एक लाखमध्ये ७० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी खरिद गर्ने योजना छ।

एक वर्षमै करिब तीन गुणा मलको मूल्य बढेपछि आपूर्तिमा कठिनाइ भएको छ। उच्च मूल्य वृद्धिले आयात हुन नसक्दा किसानले तरकारी र हिउँदे बालीका लागि रासायनिक मल पाउन सकेनन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot