Logo

गगन महामन्त्री बन्दा पुरुषोत्तम बल्ल जिल्ला अध्यक्ष



काठमाडौं, २६ पौष । २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सुरु गरे । त्यसको केही समयपछि उनले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । राजाको कदमको विरोधमा विद्यार्थी नेताहरु सडकमा उत्रिए । तीनजना विद्यार्थी नेताहरुलाई राजकाजको मुद्दा लाग्यो ।

नेविसंघको तत्कालीन सभापति गुरुराज घिमिरे, महामन्त्री गगन थापा र अनेरास्ववियू नेता पुरुषोत्तम आचार्यमाथि राजकाजको मुद्दा लागेको थियो । यो घटनाले तीनैजना नेतालाई चर्चाको शिखरमा पुर्यायो ।

जनआन्दोलनमा नायक जसरी गुरुराज, गगन र पुरुषोत्तम चर्चामा आए । कडा भाषण गर्ने तीनैजना नेता गणतन्त्रका पक्षधरका रुपमा देखिए । यो घटनाले तीनैजनाको राजनीतिमा चुनौती र अवसर देखापर्यो ।

गुरुराज घिमिरे र गगन थापा काँग्रेसको राजनीतिमा अगाडि बढे । तर, समयले गुरुराजलाई पनि पछि बनायो । गगन थापा समानुपातिकतर्फको सांसद हुँदै केन्द्रीय सदस्य र काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद बने । उनी काँग्रेसको १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भई पराजित भए । १४औं महाधिवेशनमा भने महामन्त्रीमा बाजी मारे । लोकप्रीय मत ल्याउन सके ।

गुरुराज भने प्रदेश नम्बर १ को काँग्रेस सभापतिमा पराजित भए । उनको राजनीतिमा फेरि धक्का लाग्यो ।

पुरुषोत्तम आचार्य नेकपा एमालेको राजनीतिमा सक्रिय रहे । उनी केपी शर्मा ओलीसँग निकट थिए । विगगतमा ओली माधव नेपालभन्दा कमजोर भएकाले पुरुषोत्तम पनि पछि परे । उनी ललितपुर जिल्लाको राजनीतिमा पनि पछि परिरहे । यसपटक भने उनी ललितपुर जिल्ला नेकपा एमालेको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आचार्य बल्ल पार्टीको जिल्ला अध्यक्ष बन्न सके । उनीसँगै राजकाजको मुद्दा लागेर जेल परेका र छुटेका गगन थापा काँग्रेको महामन्त्री बनिसके ।



प्रतिक्रिया दिनुहोस्

Screenshot