Logo

चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?



एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको भ्रमणको औपचारिक घोषणा थिएन ।

भारतमा बिहिबार साँझ पुगेका वाङले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । भारतसँग चीनको सीमामा तनाव भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो । यसलाई अर्थपूर्ण मानिएको छ । दक्षिण एशियामा बीआरआई मार्फत् चीनको आक्रामक कूटनीतिप्रति भारत सन्तुष्ट छैन । अर्कोतर्फ, चीनको भारतसँगको सीमा समस्याले सम्बन्धमा चीसोपन ल्याएको छ ।

भारत अमेरिका, जापान र अष्ट्रेलियासहित क्वाड सैन्य समूहमा छ । भारतले अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिमा पनि आफूलाई सामेल गरेको छ । चीन इन्डो प्यासिफिकलाई खतरनाक ठान्दछ । चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल टाइम्सले सम्पादकीय नै लेखेर इन्डो प्यासिफिक रणनीति अमेरिकाको यूरोपमा नाटोको भूमिका भन्दा खतरनाक भनेको छ ।

चीनको भारतसँग एकातर्फ सीमा समस्या छ भने भारत चीनले प्रतिष्पर्धी ठानेको अमेरिकालगायत पश्चिमाहरुसँग नजिकिदै गएको छ । यस्तो अवस्थाबीच वाङ ई भारत पुगेका छन् । उनले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेट्दैछन् । यसकारण यो भ्रमण अर्थपूर्ण मानिएको छ ।

वाङले बिहिबार नै अचानक अफगानिस्तानको भ्रमण गरेका । उनी काबुल पुग्दा धेरैका लागि आश्चर्यको विषय बन्यो । वाङ तालिवान शासनपछि अफगानिस्तानको भ्रमण गर्ने पहिलो उच्चस्तरीय चिनियाँ नेता हुन् ।

वाङलाई काबुल विमानस्थलमा अफगानिस्तानका कार्यवाहक विदेशमन्त्ती अमिर खान मुट्टकील्े स्वागत गरेका थिए । चिनियाँ सञ्चारमाध्यमले वाङले तालवानका अन्तरिम सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाहा अब्दुल घानी बरादारलाई भेटेको जनाएका छन् ।

चिनियाँ विदेशमन्त्रालयले चीनको अफगान नीतिबारे छलफल गरेको जनाएको छ । जसमा अफगानिस्तानको स्वतन्त्रता, सावैभौमिकता र भौगोलिक एकता, अफगान जनताको स्वतन्त्र चाहनाको सम्मान र अफगानिस्तानको धार्मिक आस्था र परम्पराको सम्मानको विषय छन् । वाङले बीआरआईबारे पनि छलफल गरेको जनाइएको छ ।

वाङले पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका थिए । उनी नेपाल आउँदैछन् । यसपटक दक्षिण एशियाको महत्वपूर्ण भ्रमण गरेर वाङले चिनियाँ नीति र पछिल्लो रणनीतिबारे पनि छलफल गरेको बुझिएको छ । दक्षिण एशियाका कतिपय देशमा चीनले बीआरआईलाई अगाडि बढाएको छ । कतिपय देशमा बढाउने प्रक्रियामा छ । चीनको बीआरआइप्रति भारत भने सतर्क बनेको छ । यसलाई दक्षिण एशियामा चीनको प्रभाव बढाउने रणनीतिको रुपमा बुझेको छ ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्

Screenshot