Logo

धीरजप्रताप सिंहलाई आइजीपी बनाउन बाटो खुलाइएको हो ?



काठमाडौं, १७ चैत्र । नेपाल प्रहरीमा भावी आइजीपीको दौड रोचक बनेको छ । आज मन्त्रिपरिषदले डिआइजीहरुमध्येबाट धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवाको निर्णय गरेपछि आइजीपीको दौडमा चारजना देखिएका छन् ।

त्यसो त आज बढुवा हुनेमा वसन्त पन्त पनि छन् । तर, उनी आइजीपी सैलेश थापा क्षेत्रीका ब्याची हुन् । १९ वैशाख २०७९ मा क्षेत्रीसँगै पन्त पनि सेवा निवृत्त हुनेछन् । यसकारण पन्त एक महिनाका लागि मात्र एआइजी बनेका छन् ।

एआइजीहरु हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाही पनि आइजीपी क्षेत्रीसँगै घर जानेछन् । हालको नियमावली अनुसार ३० वर्षे सेवावधि छ । आइजीपी क्षेत्रीसहित ४ एआइजी एकैपटक एक महिनापछि निवृत्त हुनेछन् ।

यसअघि आइजीपीको प्रतिष्पर्धामा विश्वराज पोखरेल र सहकुल थापा मात्र प्रतिष्पर्धी हुने देखिएको थियो । उनीहरु आफ्नो ब्याचका दुईमात्र एआइजी थिए । तर, सरकारले दरबन्दी थपेर धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई पनि एआइजी बनाएको छ ।

यसअघि विश्वराज पोखरेल पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एआइजीको दरबन्दी थपेर बढुवा हुन सफल भएका थिए । उनलाई तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको साथ मिलेको थियो । विश्वराजले आफूभन्दा माथिल्लो ब्याचीलाई समेत उछिनेर आफ्नो ब्याचका एकमात्र एआइजी बन्न सफल भएका थिए । तर, ओलीको सरकार ढल्नुभन्दा केही समय अघि अर्को दरबन्दी थपेर सहकुल थापाले पनि बढुवा पाउन सके ।

पोखरेल र थापाले अघिल्लो ब्याचीका डिआइजीलाई उछिनेर एआइजी बन्दा प्रहरीमा तरंग नै आएको थियो । तर, कसैले पनि उजूरी र मुद्दा हाल्न साहस गरेका थिएनन् ।

यसपटक धीरज प्रताप सिंह र रवीन्द्र धानुक एआइजीमा बढुवा भएपछि भने केही डिआइजीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । डिआइजीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की र ईश्वरबाबु कार्कीले बढुवाविरुद्ध रिट दायर गरेका हुन् । तीनैजना डिआइजीहरु एक महिनापछि सेवानिवृत्त भई घर जाँदैछन् ।

तीन डिआइजीले लोकसेवामा पनि उजूरी दर्ता गरेका थिए । तर, लोकसेवाले बढुवा सिफारिशलाई सदर गरिदियो । त्यसपछि मन्त्रिपरिषदले आजै तीन डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । यसविरुद्ध अदालतमा जानुलाई प्रहरीभित्र धीरज प्रताप सिंहलाई आइजीपी बन्नबाट रोक्ने प्रयासका रुपमा लिइएको छ ।

सुदूरपश्चिम स्थायी घर भएका धीरज प्रताप सिंह यतिबेला आइजीपीको दौडमा अगाडि देखिन थालेका छन् । उनी एआइजीमा आफ्नो ब्याचीमध्ये तेस्रो नम्बरमा छन् । तर, देउवाले उनलाई अगाडि बढाइसकेको चर्चा चलेको छ ।

विगतमा अपराध अनुसन्धान महाशाखाको प्रमुख बनेका सिंहले प्रदेश नम्बर २ मा पनि लोकप्रीय कामहरु गरेका थिए । उनको पछिल्लो समय सीआइबीमा रहँदाका महत्वपूर्ण कार्यहरुबाट बालुवाटार खुशी भएको बुझिएको छ । सिंहलाई सीआइबीमा ल्याउन्लाई अर्थपूर्ण मानिएको छ । देउवाको पूर्ण साथ पाएर सिंह एआइजी भएपछि उनलाई आइजीपीको प्रबल दाबेदारका रुपमा हेरिएको छ ।

सिंहलाई रोक्नकै लागि अनेकन प्रयासहरु चलिरहेको चर्चा नक्शालभित्र चलेको छ । देउवाले विगतमा जयबहादुर सिंह तीन नम्बर वरियताको डिआइजी हुँदा आइजीपी बनाउन खोजेका थिए । त्यतिबेला अदालतमा मुद्दा र अनेकन समस्याहरु आएपछि दुई नम्बरका प्रकाश अर्यालको भाग्य चम्किएको थियो । यसपटक देउवाले एआइजीमा तीन नम्बरका सिंहलाई नै अगाडि बढाउने तयारी गरिसकेको बुझिएको छ । बालुवाटारले सिंहलाई ग्रिन सिग्नल दिइसकेको विश्वस्त स्रोतले बताएको छ । एआइजीहरु पोखरेल र थापाले पनि विभिन्न सूत्रमार्फत् आफ्नो पल्लाभारी गर्ने प्रयास भने छाडेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्