Logo

“राजमोले महानगर-उपमहानगरमा एउटा उपप्रमुख मात्र मागेको छ”



काठमाडौं, ५ वैशाख । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले ५ दलीय गठबन्धनका दलहरुले आफ्नो हैसियतभन्दा बढी सिट मागेकाले सहमति हुन नसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुरीले भने, “६ महानगरपालिका र ११ उपमहानगरपालिकाबारे सहमति गर्न आज ९ बजे बैठक छ । दलहरुले आफ्नो स्थितिभन्दा बढी सिट माग गरेकाले केही समस्या देखिएका छन् । तर पहिले जितेको ठाउँ, गत निर्वाचनमा प्राप्त गरेको मतभार, सबै दललाई समावेश गरेर जाने स्पिरिटका आधारमा सिट बाँडफाँड हुने हो भने यो त्यति ठूलो समस्या होइन । हाम्रो चासो र सरोकार प्रतिगमनकारी शक्तिलाई हराउने हुनुपर्छ ।”
नेता पुरीले बाहिर हल्ला चलेजस्तो नेकपा (एकीकृत समाजवादी) ले एमालेले जितेका सबै ठाउँ माग नगरेको पनि बताए । उनले भने, “नेकपा एकीकृत समाजवादी एमालेबाट विभाजन भएको हो । उसले एमालेले जितेका सबै ठाउँ मागेको छैन, ५० प्रतिशत सिट पाउनुपर्छ भनेको छ । तर यही अडानमा छ भन्ने होइन, हार्दिकतापूर्वक छलफल भइरहेको छ ।”
राजमोले ६ महानगर र ११ उपमहानगरपालिकामा एउटा उपप्रमुखमात्र मागेको पनि उनले स्पष्ट पारे । उनले भने, “केन्द्रले गर्ने कुरामा छलफल चलिरहेको छ । हामीले एउटा उपप्रमुख मात्र माग गरेका छौं । त्यो पनि यही ठाउँ भन्ने छैन । हामी यथार्थपरक रुपमा कुरा राख्छौं । हाम्रो पार्टीको बढी माग दाबी गर्ने वा बार्गेनिङ गर्ने चलन छैन ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot