Logo

गठबन्धनका सबै दललाई समेट्न समय पुगेन, बागीलाई कारबाही गर्नुअघि सम्झाउँछौंः उदयशमशेर राणा



काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले बागी उम्मेदवारहरुलाई कारबाही गर्नुअघि सम्झाइ-बुझाइ गरिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “गठबन्धनमा केही समस्या आएको छ । अन्तिम समयमा निर्णय भएकाले हामीले साथीहरुलाई सम्झाउन पाएनौं । एकदुई हप्ता अघि टुंग्याउन पाएको भए सम्झाउने समय हुन्थ्यो । बागी उम्मेदवारी १६ गतेसम्म फिर्ता गर्न सक्छौं ।”
ललितपुरमा नेकपा (एकीकृत समाजवादी) लाई समेट्न नसकिएको पनि उनले बताए । राणाले थपे, “हामीले गठबन्धनका दलहरुलाई समेट्न खोजेका थियौं । तर विभिन्न फ्याक्टरले काम गरेन । समय पनि पुगेन । समाजवादीसँग सहमति हुन सकेन । त्यसैले माओवादी केन्द्र र कांग्रेसबीच मात्र गठबन्धन भयो । वडा तहमा कतिपय ठाउँमा मिलेको छैन । यो कति प्रभावकारी हुन्छ, भन्ने ३० गतेपछि नै थाहा हुन्छ ।”
कांग्रेस नेता राणाले गठबन्धनका चिह्नहरुलाई मत हाल्न अलमल नहुने पनि बताए । उनले भने, “गठबन्धनको यो पहिलो अनुभव हो । स्थानीय तहको मतपत्रमा सात ठाउँमा भोट हाल्ने हो । त्यसमा धेरै ठाउँमा रुख नै हुन्छ । केही ठाउँमा मात्र गठबन्धन दलहरुलाई हाल्ने हो । कांग्रेसले गठबन्धनको इमानदारीपूर्वक पालना गर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot