Logo

९५३ विदेशीले लिए आरोहण अनुमतिः ४७ करोड हिमाली दस्तुर संकलन



काठमाडौं, जेठ २ । कोभिड–१९ महामारीले २ वर्ष सुस्ताएको पर्वतीय पर्यटन यो वर्ष भने लयमा देखिएको छ । पर्वतारोहणका लागि उपयुक्त मानिने स्प्रिङ सिजन (वसन्त ऋतु) शुरू भएयता सगरमाथासहित २५ ओटा हिमाल तथा चुचुरा (पिक) आरोहण गर्न हालसम्म ९५३ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्यांकअनुसार गत आइतवारसम्म विभिन्न देशका ९५३ पर्वतारोहीलाई हिमाल तथा पिक आरोहण अनुमति दिँदा ४७ करोड ४६ लाख राजस्व संकलन भएको छ ।

अन्यभन्दा वसन्त सिजनमा हिमाल तथा पिक आरोहणका लागि सरकारले बढी शुल्क तोक्छ । विभागका अनुसार स्प्रिङ सिजनमा सगरमाथा आरोहण गर्दा प्रतिआरोही ११ हजार अमेरिकी डलर तिर्नुपर्छ । सोही हिमाल विन्टरमा आरोहण गर्दा २ हजार ७५० डलर तिरे पुग्छ ।

सन् २०२२ को हालसम्मको अवधिमा सगरमाथा आरोहणका लागि परमिट जारी गर्दा विभागले रू ३९ करोड ६८ लाख राजस्व संकलन गरेको छ । कुल राजस्व संकलनमा सगरमाथाको अंश बढी हुन्छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेका बेला यो वर्षको शुरूदेखि नै पर्यटक आगमनमा सुधार हुँदा सकरात्मक योगदान भएको छ ।

यो वर्षको वसन्त सिजनका लागि सगरमाथा, अमादब्लम, अन्नपूर्णसहित विभिन्न २५ ओटा हिमाल तथा पिक आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot