Logo

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास



काठमाडौं, जेठ १२ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको, ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने औंल्याएको छ । डब्लूएचओले यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट भएको पनि जनाएको छ ।

हालसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, इजरायल, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनलगायतका मुलुकमा मंकीपक्सको प्रभाव देखिइसकेको छ । यीमध्ये अधिकांश मुलुकमा नेपाली बसोबास गर्छन् । साथै यी देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । त्यसो त मंकीपक्सको प्रभाव पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन ।

डब्लूएचओले बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने जनाएको छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने उसले जनाएको छ । डब्लूएचओले संक्रमण भएको खण्डमा ज्वरो आउने, जिउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने, संक्रमण भएको केही दिनमा अनुहारमा बिमिरा देखा पर्न थाल्ने र शरीरका अन्य भागमा फैलिने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार, मंकीपक्स मुखको छिटाबाट समेत सर्दछ । मास्कको प्रयोग गरे, साबुन पानीले नियमित हात धोएको अवस्थामा, शंकास्पद संक्रमित व्यक्तिको नजिक नगएको अवस्थामा बच्न सकिन्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot