Logo

एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै



भरतपुर, असार २ । नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ–काठमाडौं माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताए। उनले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गरे ।

उनको भनाइलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन विष्टले उक्त सडकमा दुई वर्षमा चारवटा सवारीसाधन पहिरोले पुरिएको जानकारी दिए । “पहिरोले जाम मात्रै हैन सतर्कता नअपनाउँदा सवारीसाधन नै पुरिने जोखिम बढ्दो छ”, उनले भने ।

उक्त सडक खण्डमा दैनिक १० हजारको हाराहारीका सवारीसाधन र त्यसमा यात्रा गर्ने लाखौँ यात्रु यात्रा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सहायक हवल्दार घनश्याम चौधरीका अनुसार गत साउनदेखि अहिलेसम्म उक्त सडकमा २० पटक पहिरो झर्दा १०१ घण्टा सडक अवरुद्ध भएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot