Logo

एकीकृत समाजवादीमा १० सांसदले गरे ‘विद्रोह’, ‘मन्त्री फिर्ताको निर्णय नमान्ने’



काठमाडौं, असार १०। नेकपा (एकिकृत समाजवादी) का १० सांसदले मन्त्रिपरिषद्‌ हेरफेरविरुद्ध पार्टी कार्यालयमा असन्तुष्टि पत्र दर्ता गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले आज बिहान १० बजे पार्टी कार्यालय आलोकनगर पुगेर असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।

पार्टीलाई बुझाएको उक्त पत्रमा बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व भएको उल्लेख गरिएको छ । ‘बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व छ’ पत्रमा लेखिएको छ ‘बजेट पारित भएपछि मन्त्री फेर्ने आन्तरिक समझदारी हुँदाहुँदै क्षणक्षणमा प्रधानमन्त्रीलाई दबाब दिएर हुर्मत लिने काम गरेको ठिक भएन ।’

त्यस्तै अहिले मन्त्री बनाउन प्रस्ताव गरेको पाँच जनाको नाम कुनै हालतमा परिवर्तन हुनुपर्ने उनीहरूले अडान राखेका छन् ।

एकीकृत समाजवादीका १० सांसदले उठाएको ८ बुँदे माग

१/ आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न।

२/ पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुरयाउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन।

३/स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजैरभोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

४/  मन्त्रीहरुले संसद्‌मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं।

५/ प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं।

६/ पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

७/ मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

८/ यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।



प्रतिक्रिया दिनुहोस्

Screenshot