Logo

खस्किँदो अर्थतन्त्र समाल्ने निकायमा विवाद



काठमाडौं, साउन २ । मुलुकको बाह्य क्षेत्रमा समस्या देखिन सुरु गरेको वर्ष दिन पुगेको छ। गत आर्थिक वर्षको पहिलो महिना साउनदेखि देखिएका समस्या यो वर्ष साउन लाग्दासम्म समाधान भएका छैनन्। केही क्षेत्रका समस्या झनै गहिरिएर जाँदैछन्।

खासमा मुलुकमा विदेशी विनिमय सञ्चिति घटेका कारण अर्थतन्त्रका बाह्य क्षेत्रमा समस्या देखिएका छन्। शोधनान्तर स्थिति र चालु खाता घाटा अकासिएका छन्। लामो समयदेखिको उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकार विभिन्न आयातित वस्तुमा बन्देज लगाउन बाध्य भएको छ। तर सफलता मिलेको छैन। पछिल्ला ११ महिनामा १८ प्रतिशतले सञ्चितिमा कमी आएपछि सात महिनाको वस्तु तथा सेवा आयात गर्न नपुग्ने अवस्था आएको छ। यो हाम्रो जस्तो अर्थतन्त्रको चरित्र भएको मुलुकका लागि न्यूनतम बिन्दु हो।

अर्थतन्त्रको बाह्य पाटोमा देखिएका समस्या समाधान गर्न नसकेको सरकार आन्तरिक पाटो सुधार गर्न पनि असफल भएको छ। अहिलेसम्म अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएका समस्या अब आन्तरिक पाटोमा पनि देखिन थालेको छ।

गत आर्थिक वर्षको सुरुदेखि बजेटरी खर्च गर्न नसकेर आलोचित बन्दै आएको सरकारको उपलब्धि अन्तिमसम्म पनि उस्तै अवस्थामा रह्यो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको टिप्पणी गर्दै आएको अहिलेको सरकारको बजेटरी प्रगति इतिहासकै सबैभन्दा कमजोर देखिएको छ।

एक दिनअघि मात्र सकिएको आर्थिक वर्ष २०७८/७९ का सरकारी तथ्यांकले चालु र पुँजीगत खर्च एवं राजस्व असुलीमा आफैंले तोकेको लक्ष्यभन्दा सरकार धेरै टाढा रहेको देखाएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउँदा उनीअघिका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको आकार घटाएका थिए। तैपनि लक्ष्य फेला पार्न सरकार चुकेको छ।

गत आर्थिक वर्षमा सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। यसमध्ये ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको थियो। वर्ष सकिँदा सरकारले २ खर्ब १६ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ। यो लक्ष्यको ५७.२३ प्रतिशत हो।

मुलुकमा भूकम्प, कोभिडजस्ता गम्भीर प्रकृतिका घटना नभएका वर्षहरूसँग तुलना गर्ने हो भने गत वर्षको खर्च ऐतिहासिक रूपमा कम हो। गत वर्ष बजेटले राखेको लक्ष्य भेट्टाउनु त परै जाओस्, संशोधित लक्ष्य पनि फेला पर्न सकेन। विगतका सरकारले अहिलेको जस्तो सामान्य वर्षमा पुँजीगत बजेट खर्चमा लक्ष्य फेला नपारे पनि ७० देखि ९० प्रतिशतसम्म गर्न सफल भएका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्