Logo

उपेन्द्रलाई प्रचण्डको भर



काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच पुरानो सम्बन्ध छ । कुनैबेला उपेन्द्र यादव पनि माओवादीमा थिए । पछि उनी मधेशवादी मुद्दा लिएर नयाँ दल गठन गर्न पुगे । तर, पुरानो सम्बन्धले अहिले पनि दुवैलाई काम दिएको छ ।

उपेन्द्र यादवलाई सत्ता गठबन्धनमा ल्याउन प्रचण्डले महत्वपूर्ण भूमिका खेले । उनलाई गठबन्धनमा टिकाइराख्न पनि प्रचण्डकै मुख्य भूमिका रहेको देखिन्छ ।

सत्ता गठबन्धनको जसपाभित्र विवाद आउँदा डा. बाबुराम भट्टराईले उपेन्द्र यादवको ठाउँ लिन खोजेका थिए । बाबुरामले जसपामा नियन्त्रण बनाउन सम्म खोजे । तर, सकेनन् । बाबुराम जसपाबाट मन्त्री बनाउन सूची समेत लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न विगतमा बालुवाटार पुगेका थिए । तर, देउवा तयार भएनन् । उपेन्द्र यादवलाई नै जसपाको नेता मानेर व्यवहार गरिरहे । यी सबै घटनाक्रमका पछाडि प्रचण्डको भूमिका रहेको छ ।

जसपालाई सत्ता गठन्धनबाट बाहिर बनाउने प्रयास नभएको होइन । तर, प्रचण्डकै बचाऊका कारण उपेन्द्र यादवलाई बाहिर पठाउने प्रयास सम्भव भएन ।

देउवा लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउन चाहिरहेका छन् । तर, जसपालाई बाहिर बनाएर लोसपालाई ल्याउन नदिन प्रचण्डले नै भूमिका खेलिरहेको बुझिएको छ । उनी उपेन्द्र यादवको विकल्पमा कुनै अर्को मधेश केन्द्रित नेतालाई बढेको देख्न चाहिरहेका छैनन् । उनका लागि उपेन्द्र नै सहज भएका छन् । उपेन्द्रलाई पनि अहिले प्रचण्डकै भर देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot