Logo

राष्ट्रघात गर्ने नेता र दललाई निर्वाचनमा सहभागी हुन नदिएर दण्ड दिनुपर्छ : नेपाली नागरिक पार्टी



काठमाडौं, २५ साउन । नेपाललाई हिन्दुअधिराज्य स्थापना गर्ने लक्ष्यसहित स्थापना भएको नेपाली नागरिक पार्टीले अहिले मुलुक अप्ठ्यारो अवस्थामा गुज्रिएको जनाएको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै पार्टीले देशका राजनीतिक दलहरु विदेशी इशारामा हिडेको र नेताहरु केही गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँले नेपालमा एमसीसी लाद्ने दलालसत्ताको खारेजीको माग गरेका छन् । बानियाँले नेपालका सबै राजनीतिक शक्तिहरुको गोलमेच सम्मेलनबाट जनताको नयाँ संविधान निर्माण गर्नुपर्ने धारणा राखे । राष्ट्रघात गर्ने नेता र दलहरुलाई आगामी निर्वाचनमा सहभागी हुन नदिएर दण्ड दिनुपर्ने उनको भनाई थियो । राष्ट्र मासिने खतरा बढेको भन्दै उनले सबै मिलेर विद्रोह गर्न आहुवान गरे । उनले वर्तमान सरकारलाई राष्ट्रघाती संज्ञा दिँदै यसलाई विघटन गरेर जनता, सेना, सुरक्षाकर्मी, राजादेखि माओवादीसम्मको एक खुकुलो विद्रोही मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, वरिष्ठ राजनीतिज्ञ प्रेम कैदीले आफु राजनीतिक दलहरुलाई बहिस्कार गर्ने विचार धाराको व्यक्ति भएको बताए । उनले भने,‘२००७ सालदेखि राजनीतिक दलहरुले देशमा आतंक, हत्याकाण्ड मच्चाउने, हत्यारा, अपराधि, देशको सिमाना बेच्नेजस्ता कुकर्म गरेको हुनाले दलहरुप्रति मलाई घृणा लाग्छ । नेपालका नदीनाला बेच्ने नेपाली कांग्रेस हो ।’ कांग्रेसकै कारण जनता एमसीसी सम्झौताको पक्षमा जान वाध्य भएको उनको भनाई थियो ।

उनले नेपाली सेनाले लुटेरा र अपराधिको संरक्षण गरीरहेको आरोप लगाए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपराधी र फटाहको संज्ञा दिँदै उनले जापान पुगेर मधेशका जनतालाई नागरिकता दिन खोजेको बताएको स्मरण गराउँदै त्यसबारे आपक्ति जनाए । वीरगञ्ज र रक्सौल नाकाबाट आउने नागरिक नेपाली जनता नभएको उनले दाबी गरे । उनले भने,‘यो प्रचण्ड भन्ने पनि अपराधी हो । जसले एमसीसी र एसपीपीमा समर्थन गर्यो । उ नेपाली राजनीतिको कुख्यात पात्र हो ।’

त्यस्तै, वरिष्ठ राजनीतिक विश्लेषक डा.केबी रोकायाले पछिल्लो समय देशभित्र हुने गतिविधिबारे जानकारी लिनुको अर्थ नरहेको बताए । उनले भने,‘हामी परिचालित छौं, सञ्चालित छौं, पराधिन छौं, स्वतन्त्र छैनौं ।’ नेपाल अहिले स्वतन्त्र नभएको भन्दै उनले नेपाल अहिले आफ्नो लागि निर्णय गर्न नसक्ने अवस्थामा रहेको बताए ।

रोकायाले नेपालले जे चाह्यो त्यो उपलब्ध गराउन नसक्ने अवस्थामा रहेको समेत टिप्पणी गरे । दल, नेता र सरकारलाई गाली गर्नुको औचित्य नभएको उनको भनाई थियो । उनले भने,‘यहाँका राजनीतिक दल, शक्तिहरु, राज्यका सबै निकायहरु सबै विदेशी शक्तिका नोकर, दलाल र दास भएको कारण उहाँहरुले चाहेर पनि केही गर्न सक्नुहुन्न । उहाँहरुलाई देशको हितमा काम गर्न मन लागेपनि केहीगर्न सक्दैनन् ।’ उनले विदेशी बाह्रय शक्तिले नेताहरुलाई काम गर्न नदिएको समेत जिकिर गरे ।

विश्वभरका देश एक बनाउन एउटा अदृश्य संगठन निर्माण भएको बताए । उनले भने,‘उक्त संगठनले सारा देशलाई सिध्याएर एउटै देश बनाउन खोजेको छ । त्यो शक्तिले विश्व एक बनाएर नेपालको धर्म सस्कृति मेटाउन खोजिएको छ ।’ यस्तो अवस्थामा केही गर्न नसकिने भन्दै जनताले एकपटक सोच्न पर्ने बेला आएको उनको भनाई थियो ।

कार्यक्रम सञ्चालक घनश्याम भण्डारीले आफ्नो पार्टीको नीति र केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँले सारेको नीति मिलेकोले एकिकरणको तयारी भइरहेको जानकारी दिए । उनले आफ्नो पार्टीले अविचारी, विघटनवादी, भ्रष्टचारीको कडा विरोध गर्ने बताए । उनले भने,‘यो देश सिध्याउने अतिवादी हुन्, भ्रष्ट्रचारी हुन् र विघटनकारी हुन् । यीनको कडा बिरोध गर्छौ । जस्तो संकट परेपनि अनुशासित प्रजातन्त्र र मर्यादित राजतन्त्रको मार्गमा हिडछौं हामी ।’

उनले हजारौ दुख कष्ट झेलेर भएपनि आफुहरुले गरिब जनताहरुलाई माथि उठाउन र जनताको सर्वोच्च माग हिन्द्ुराज्य बनाउन लागि पर्ने प्रतिज्ञा पनि गरे ।

पार्टीको उद्देश्य देशलाई हिन्दुराज्य कायम गर्न र देशमा अनुशासित प्रजातन्त्र स्थापित गर्नु रहेको उनले दाबी गरे । राजनीतिमा धर्म हुनुपर्छ भन्दै उनले भने,‘राजनीतिमा धर्म हुनुपर्छ र धर्ममा राजनीति हुनु हुँदैन्, राजनीतिले देशको संस्कृति हराउँछ, संस्कृति हराए त्यो देशको राष्ट्रियता हराउँछ र राष्ट्रियता हराए नागरिक पनि हराउँछन् ।’



प्रतिक्रिया दिनुहोस्