Logo

नेयमार चम्किँदा पीएसजीको लगातार दोस्रो जीत



एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमार जुनिएर चिम्किएपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा मोन्टेपेलिएरलाई ५-२ गोलले पराजित गर्दै पीएसजीले लिगमा लगातार दोस्रो जीत निकालेको हो ।

घरेलु मैदानमा पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन नेयमारले दुई गोल गर्दा कालियन एम्बाप्पे र रेनाटो सान्चेसले समान एक/एक गोल गरे । पीएसजीले एक गोल उपहार पाएको हो । मोन्टेपेलिएरको लागि वाहबी खाजरी र इन्जो टचाटोले एक/एक गोल गरे ।

पहिलो हाफको ३९ औं मिनेटमा फालाए सास्कोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा अग्रता लिएको थियो । यसअघि २३ औं मिनेटमा एम्बाप्पे पेनाल्टीमा चुक्दा पीएसजीले गोल गर्न ४० मिनेटसम्म कुर्नु पर्यो ।

४३ औ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । ५१ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० गोलको अग्रता दिलाए ।

५८ औं मिनेटमा खाजरीले गोल गर्दै मोन्टेपेलिएरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दा पीएसजी सहज जीततर्फ अगाडि बढेको थियो । ८५ औं मिनेटमा गरेको गोल भिएआरले अफसाइड घोषित गर्दा नेयमार व्यक्तिगत ह्याट्रिकबाट वन्चित भएका थिए ।

८८ औं मिनरमा मेन्डेसको पासमा सान्चेसले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाएका थिए । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा फायदको पासमा टचाटोले गोल गरेपनि मोन्टेपिएलर ५-२ गोलको हार बेहोर्न बाध्य भयो ।

लगातार दोस्रो जीतसँगै पीएसजी दुई खेलबाट ६ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको मोन्टेपिएलर आठौँ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot