Logo

प्रचण्डलाई चितवनबाट चुनाव जित्न कति चुनौती, यस्तो छ अंकगणित



काठमाडौं, १० भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि चितवनबाट चुनाव लड्ने तयारीमा छन् । उनी २०७४ को चुनावमा चितवन ३ बाट ४८ हजार २७६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेलाई पराजित गर्न सफल भएका थिए । पाण्डेको ३८ हजार ९३५ मत थियो ।

गत चुनावमा माओवादी र एमालेको गठबन्धनबाट चुनाव लडेका प्रचण्डले सानदार जित निकाले । यसपटक उनले गठबन्धन काँग्रेससँग बनाएका छन् । यसले चुनाव जित्न अझ सहज हुने आँकलन माओवादीको छ ।

स्थानीय चुनावको मतलाई आधार मान्दा माडी नगरपालिकामा एमालेका मेयर उम्मेदवार ९ हजार ९०१ मत ल्याएर विजयी भएका थिए । माओवादीले ७ हजार ७२९ मत ल्याउन सक्यो । उक्त क्षेत्र चितवन १ मा पर्छ ।

चितवन १ मा पर्ने ६ देखि ९ वडा, १३ देखि २८ वडामध्ये एमालेले ४ वटा मात्र वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ४, नेकपा एसले २ र नेपाली काँग्रेसले १० वडामा वडाध्यक्ष जितेको छ । मतपरिणाममा सबैभन्दा बढी एमालेको ३६ हजार १९६, काँग्रेसको २७ हजार ६, माओवादीको ७ हजार एक सय, नेकपा एसको ५ हजार ३४३ र राप्रपाको १ हजार ८१६ रहेको छ । कुल मतलाई केलाउँदा नेकपा एमालेको भन्दा गठबन्धनको बढी मत छ ।

चुनावमा प्रचण्डका विरुद्ध को उम्मेदवार बन्ने चासो बनेको छ । एमालेले आफ्ना उम्मेदवार उठाउने या राप्रपासँग तालमेल गर्ने हो ? प्रश्न बनेको छ । राप्रपाले एमालेको साथ पाएमा विक्रम पाण्डे उम्मेदवार बन्ने सम्भावना छ । उनले अघिल्लो चुनावको नतिजालाई उल्टाउने गरी रणनीति बनाइरहेको बुझिएको छ ।

भरतपुर महानगरपालिकामा रेणु दाहालले जीत निकालेकाले प्रचण्ड उत्साही छन् । तर, गठबन्धनभित्र गडबड भएमा प्रचण्डलाई मुश्किल पर्न सक्छ । अर्कोतर्फ काँग्रेस छाडेका विद्रोही देखि स्वतन्त्र उम्मेदवारहरुसम्मको चुनौती हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot