Logo

कालोबजारी, गुणस्तरहीन वस्तुको बिक्रि–वितरण तत्काल नियन्त्रण नगरे आन्दोलन गर्ने नेपाली उपभोक्ता संरक्षण महासंघको चेतावनी (भिडिओसहित)



काठमाडौं, १० भदौ । नेपाली उपभोक्ता संरक्षण महासंघले मुलुकमा भइरहेको कालोबजारी, मूल्यबृद्धि एवं् गुणस्तरहीन वस्तुको बिक्रि–वितरण तत्काल नियन्त्रण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गुणस्तरहीन खाद्यान्नलगायतले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै तत्काल त्यसको नियन्त्रण गर्न आग्रह गरेको हो ।

गत साउन २६ र २७ गते प्रथम राष्ट्रिय महाधिवेशनले पारित गरी घोषणा गरेका विषयहरुको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्यबृद्धि एवं् गुणस्तरहीन वस्तुको बिक्रि–वितरण तत्काल नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए । उनले नेपाली उपभोक्ताहरु धेरै विषयवस्तुमा ठगिनुपरेको टिप्पणी गरे । उनले सडकबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई ज्ञापनपत्र बुझाउने पनि जानकारी दिए ।

उपभोक्ताको अधिकार संरक्षण गर्नका लागि गठन गरिएका सबै संयन्त्रलाई क्रियाशील बनाएर सबै क्षेत्रका अनुगमन समितिमा महासघंको प्रतिनिधित्वको सुनिश्चित्ता गर्न उनले माग गरे ।

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्यवृद्धिलगायतविरुद्ध अब जनता जागरुक हुनुपर्ने समय आएको धारणा राखेका छन् ।
उनले भ्रष्टाचारी, कालोबजारीया तथा गुणस्तरहिन वस्तुसँग संलग्न भई उपभोक्ताबिरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।

उनले काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा आम उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्नेगरि थुपारिएको फोहरमैलाको दीगो व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । भट्टराईले विभिन्न व्यवसाय तथा विकास निर्माणको नाममा निर्मित अनधिकृत र गैरकानूनी रुपमा सञ्चालन गरिएका संरचना बन्द गर्नसमेत सरकारलाई सुझाव दिए ।

यसैगरी, महासंघका प्रवक्ता लुमडी कार्कीले गुणस्तरहीन खान दिएर देशका सबै जनतालाई रोगी बनाएको आरोप लगाएका हुन् । जनताको स्वास्थ्यमा खेलवाड गर्न नपाइने उनको भनाई थियो ।

गुणस्तरहीन खाद्यान्न तथा औषधीकोे बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै कार्कीले निःशुल्क स्वास्थ्योपचार तथा क्षतिपूर्ति प्राप्त गर्ने प्रावधान कडाईका साथ लागु गर्नुपर्ने धारणा राखे ।

महासंघमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ संघहरु आबद्ध छन् तथा महासंघको ७ वटा प्रदेश समितिहरु तथा बिभिन्न जिल्ला समितिहरु क्रियाशील छन् । कार्यक्रममा आमउपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन÷अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने उद्देश्यले महासंघको स्थापना गरिएको समेत जनाईएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot