Logo

२०७९ को चुनाव कुन कुन नेताका लागि अन्तिम होला



काठमाडौं, २५ भाद्र । नेपालको राजनीतिमा प्रतिनिधि सभा निर्वाचन २०७९ निकै महत्वपूर्ण हुनसक्छ । यसकारण पनि यो चुनाव महत्वपूर्ण हुनसक्छ कि धेरै पाका नेताहरु सन्यासतर्फ धकेलिन सक्छन् ।

नेपाली राजनीतिको केन्द्रमा रहेका शिर्ष नेताहरुमध्ये अधिकांश ७० कटिसकेका छन् । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ८० को नजिक छन् । काँग्रेसका अर्का प्रभावशाली नेता रामचन्द्र पौडेल पनि ८० को नजिक पुगिरहेका छन् । यी दुई नेताका लागि यो चुनाव अन्तिम हुनसक्छ ।

काँग्रेसको विधानले दुईपटक भन्दा पार्टी सभापति बन्न नपाउने उल्लेख गरेको छ । देउवा १३औं र १४औं महाधिवेशनमा सभापति निर्वाचित भइसकेका छन् । अब उनका लागि तेस्रो कार्यकाल विधानले रोकेको छ । अबको ५ वर्षमा देउवा ८० कटिसक्छन् । पौडेल पनि ८० कट्नेछन् । यसकारण सम्भवत यो चुनाव दुवै नेताका लागि अन्तिम हुनसक्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० कटेका छन् । उनले विधान परिवर्तन गरेर पार्टी अध्यक्ष बन्न सके । तर, फेरि एमाले अध्यक्ष बन्न उनका लागि विधान परिवर्तन अनिवार्य हुन्छ । सम्भवतः स्वास्थ्य, उमेरहद र विधानका कारण ओलीका लागि यो चुनाव नै अन्तिम हुनसक्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ७० को नजिक छन् । उनका लागि भने यो चुनाव अन्तिम नहुनसक्छ । तर, माओवादीभित्र पछिल्लो पुस्ताका वर्षमान पुन, जर्नादन शर्मा जस्ता हस्तीले प्रचण्डलाई चुनौती दिन थालिसकेका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० पुगेका छन् । उनका लागि पनि यो चुनाव अन्तिम हुनसक्छ । एसकै सम्मानित नेता झलनाथ खनाल पनि ७० कटिसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले यो चुनावलाई अन्तिम भनेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ७० को नजिक छन् । उनले पनि यो चुनावलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावका रुपमा लिएका छन् ।

पूर्वप्रधानमन्त्रीमध्ये लोकेन्द्रबहादुर चन्द मात्र यो चुनावमा प्रतिष्पर्धामा उत्रने छैनन् । ८० कटेका चन्द स्वास्थ्यका कारण प्रायः निष्कृय नै छन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर ८० पुगेका छन् । उनका लागि यो चुनाव सम्भवतः अन्तिम हुनसक्छ । ठाकुर प्रत्यक्षतर्फ चुनावमा भाग लिने नलिने निश्चित छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादव भने ६० पार गरेका छन् । उनी अझै केही वर्ष राजनीतिमा सक्रिय हुने सम्भावना देखिन्छ ।

काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि ७० कटेका छन् । उनी पनि अझै कम्तिमा २ वटा चुनावमा भाग लिने गरी सक्रिय देखिन्छन् । काँग्रेस नेताहरु कृष्णप्रसाद सिटौला पनि ७० कटेका छन् । प्रकाशमान सिंह, डा. सशांक कोइराला, सुजाता कोइराला, पूर्णबहादुर खड्का ७० को नजिक छन् । उनीहरु अझै कम्तिमा २ वटा प्रतिनिधि सभा चुनावमा भाग लिने सम्भावनासहित सक्रिय छन् ।

राजनीतिक दल र स्वतन्त्रहरुबाट युवा उमेरकाहरु जर्बजस्त अगाडि बढेकाले ७० कटेका नेताहरु दबाबमा छन् । उमेर, स्वास्थ्य, प्रविधिसँगै नयाँ पुस्ताको चुनौतीले धेरै नेताहरुले २०७९ को प्रतिनिधि सभा चुनाव आफ्ना लागि अन्तिम भन्न थालेका छन् । यसकारण पनि यो चुनाव रोचक हुने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्