Logo

नेपाली जहाजको युरोप यात्राको भविष्य कात्तिक ११ गते टुङ्गो लाग्ने



काठमाडौं, असोज २४।पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ।

कालोसूचीबाट हटाउन नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न आठ वर्षपछि नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ। दशैँको टीकाका दिन नेपाल आएको उक्त टोलीले असोज २० र २१ गते अध्ययन तथा अनुगमन गरेको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएपछि नेपाल आएको उक्त टोलीले गरेको अध्ययन तथा अनुगमनपछि नेपाली वायुसेवा कम्पनी युरोपमा उड्न पाउने नपाउनेबारे चाँडै निर्णय हुने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपालले सन् २०१३ यता हवाई सुरक्षामा राम्रो सुधार गरिसकेको र आइकाओले समेत त्यस्तै प्रतिवेदन दिएकाले ईयूको टोली नेपालको हवाई सुरक्षाप्रति सन्तुष्ट देखिएको छ। उनले भने, “स्थलगत अध्ययनमा आएको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको छ। अक्टोबर २८ मा उसको रिपोर्ट आउनेछ।” नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले अध्ययन गरेर फर्किएको टोली नेपालप्रति सकारात्मक रहेको उनको भनाइ छ।

उनले भने, “आइकाओका हवाई सुरक्षा सुधार ६० प्रतिशत वा सोभन्दा माथि रहनुपर्नेमा नेपालको विस्तृत सुरक्षा परिपालन दर ७०।१ प्रतिशत रहेकाले प्रतिबन्धबारे ईयूले निर्णय पुनर्विचार गर्ने आशा गरिएको हो।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल ईयूको कालोसूचीबाट हट्ने अपेक्षाअनुसार नेपालबाट स्विट्जरल्यान्ड, इन्डोनेसिया र अमेरिकासँग सिधा हवाई उडानबारे समेत छलफल भइरहेको छ। नेपाल र स्विट्जरल्यान्डको नागरिक उड्डयन प्राधिकरणबीच हवाई सेवा सम्झौता प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइसकेको छ।

स्विस प्राधिकरणसँग भएको प्रारम्भिक छलफलमा नेपाल र स्विट्जरल्यान्डबीच डिसेम्बरमा हवाई सम्झौता हुने र कोड सेयर सम्झौतामार्फत स्विस इन्टरनेसनल एयरलाइन्सले सिङ्गापुरको सिङ्गापुर एयरलाइन्स र भारतको भिस्टारा एयरमार्फत नेपालमा उडान गर्न सक्ने भएको छ। आइकाओको क्यानडामा सम्पन्न सम्मेलनमा नेपाल र स्विट्जरल्यान्डबीच उक्त समझदारी भएको हो। सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनी स्विट्जरल्यान्ड जान सक्नेछन्। स्विट्जरल्यान्डसँग हवाई सम्झौता भने डिसेम्बरमा नाइजेरियामा आयोजना हुने आइकाओको बैठकमा हुने भएको छ।

नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता तयारी गरिरहेको छ। त्यस्तै गरी संयुक्त राज्य अमेरिकासँग पनि द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ। ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना र सन् २०११/१२ मा एक–एक विमान दुर्घटना भएपछि सन् २०१३ डिसेम्बर ५ गतेदेखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ।

ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा आइकाओको प्रतिवेदनलाई आधार मानेको थियो। आइकाओले भने चार वर्षपछि सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ। कालोसूचीका कारण हाल नेपाली वायुसेवा ईयूअन्तर्गतका कुनै पनि देशमा जान पाएका छैनन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot