Logo

बागलुङ बजारमा खेलाडीकै चहलपहल



काठमाडौँ,१ कार्तिक । बागलुङमा पहिलोपटक सरकारीस्तरको राष्ट्रिय प्रतियोगिता । बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन् । बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ ।

बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रसमेतमा अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन् । बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ ।

बागलुङमा शनिबारदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिताले बागलुङ बजारलाई गुल्जार बनाएको छ । अहिले बागलुङ बजारको चोक चोकमा आइटिएफका व्यानर छन् भने बाङ्गेचौर खेलमैदान झकिझकाउ बनेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले बागलुङ बजार आइटिएफमय बनेको छ ।

आइटिएफको उर्भरभूमी बागलुङमा नवौं राष्ट्रिय खेल आयोजना भइरहँदा खेलाडी तथा बागलुङबासीमा उत्साह छाएको आइटिएफ तेक्वान्दोका सचिव राजु खड्काले बताए ।

“बागलुङ बजार अहिले आइटिएफमय भएको छ, अहिले बाङ्गेचौरमा कुम्भ मेलानै लागेको छ, बागलुङ जिल्ला आइटिएफ तेक्वान्दोको उर्भर भूमि हो”, खड्काले भने “जिल्लाले नवौं राष्ट्रिय खेल गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा आइटिएफतर्फ धेरै पदक जितेको छ, अहिले बागलुङको पर्यटन पर्वद्धनसँगै व्यापार व्यवसायसमेत फष्टाएको छ ।”

बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहल र बाङ्गेचौर खेलमैदानमा आयोजना गरेको आइटिएफ तेक्वान्दो प्रतियोगितामा दर्शकको आकर्षण बढ्दो छ ।

दर्शकको माग पुरा गर्न प्रतियोगिताको स्थानीय आयोजक बागलुङ नगरपालिकाले कवर्डहलमा दर्शक राख्न समस्या भएपछि केही खेल बागलुङको बाङ्गेचौर खेलमैदानसमेतमा आयोजना गरेकाले दर्शकको आकर्षण बढेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताए ।

शनिबारदेखि दैनिकरुपमा आइटिएफ तेक्वान्दो खेल प्रतियोगिता हेर्नका लागि बाङ्गेचौर आउनेगरेको खेलप्रेमी सन्तोष सिलवालले जानकारी दिए । “खेलप्रेमीका लागि कुम्भमेला नै लागेको छ यहाँ, दैनिकरुपमा प्रतियोगिता हेर्न मसहित धेरै दर्शक आउने गरेका छन्, अहिले यो प्रतियोगिता बागलुङमा हुनुले बागलुङको प्रतिष्ठा बढेको छ”, दर्शक सिलवालले भने, “बागलुङले तीन सय ५० बढी खेलाडी र पाहुनालाई व्यवस्थापन गरी यहाँ राख्न सफल भएको छ, यहाँ राष्ट्रिय खेल हुँदा आटिएफका खेलाडी उत्साहित भएका छन् ।”

तीन सय ५० भन्दाबढी खेलाडी र पाहुना कात्तिक ३ गतेसम्म बागलुङमा रहने भएकाले बागलुङको व्यापार तथा पर्यटन व्यवसायमा सघाउ पुग्ने बागलुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । मुख्यतया देशभरका आइटिएफ खेलाडीले बागलुङ चिन्ने र बागलुङको विभिन्न पर्यटकीयस्थलको भ्रमण गर्ने गरेका छन् ।

प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका दुईसय ५० खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टीमका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी भएका छन् । बागलुङमा पहिलो पटक आयोजना हुनलागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण ४५ रजत र ३० काश्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्प्रधा भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot