Logo

विरोध खतिवडाको झटारो- झापामा बा, मकवानपुरमा काका उठाउने अनि युवा जिताउने ध्वाँस दिने ?



काठमाडौं, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले मकवानपुर २ का गठबन्धनका साझा उम्मेदवार आफूलाई हराउन मोर्चा मात्र नभएर महामोर्चा आवश्यक पर्ने बताएका छन् ।

‘एमालेका युवा नेता उठाउने नीति हो भने केपी ओली, सुवास नेम्बाङ, ईश्वर पोखरेल किन उठ्या ? राप्ती खोला पारि युवा नेता चाहिने, राप्ती खोलावारि कमल थापा उठाउने ? झापामा बा, यता काका । यस्ता पिपल पाते दहीचिउरे गफ कसले पत्याउने ? मकवानपुरमा आफू लोकप्रिय रहेको, विकासका काम गरेको, केपी ओलीसँग विद्रोह गरेका कारणले मलाई हराउन महामोर्चा नै बनाउनुपर्छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने । मकवानपुर २ मा खतिवडाविरुद्ध एमालेका महेश बर्तौला मैदानमा छन् ।

खतिवडाले आफ्नो पहलमा १२, १५ वटा पुल बनेको, चित्लाङमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय बनेको, चित्लाङ थानकोट सडक विस्तार गरेको, थाहा नगरपालिकामा अक्सिजन प्लान्टसहितको अस्पताल बनाएको आदि कामको फेहरिस्त पनि सुनाए । उनले भने, ‘म घरघरमा ग्यासपाइप, पानी जहाज, रेल आदि केपी अ‍ोलीजस्तो फटाहा कुरा गर्न सक्दिनँ । सेन्टिमेन्टल कुरा गरेर पनि बस्न चाहन्नँ । पाँच दलीय गठबन्धनसँग एजेन्डा नभए कोसँग छ त ?’

केपी ओलीले गणतन्त्रको आन्दोलनमा नगएको आरोप पनि उनले लगाए । खतिवडाले भने, ‘उहाँ बार्दलीमा एक पेग राखेर काजु टोक्दै बस्नुभयो । कुनै आन्दोलनमा सडकमा आएको एउटा फोटो देखाइदिनूस् । म राजनीति छाडिदिन्छु ।’ आफू उठ्ने थाहा भएपछि डोरमणि पौडेल मैदानबाट भागेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot