Logo

कांग्रेसले आफू मात्र जित्दैन, गठबन्धनलाई पनि जिताउँछः किशोरदत्त बराल



काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले प्रतिस्पर्धीको उचाइ घटाएर आफ्नो उचाइ नबढ्ने बताएका छन् ।
‘राजनीति भनेको घृणा मात्र होइन, संस्कार पनि हो । आफ्ना लागि भोट माग्नुस् तर अरुलाई भोट नदेऊ भन्न मिल्दैन । प्रतिस्पर्धी उम्मेदवारलाई कमजोर बनाउने हो भने उसको उचाइ घटाएर होइन, आफ्नै उचाइ बढाउनुपर्छ,’ पत्रकार ऋषि धमलाले सञ्चालन गरेको बहस ‘मंसिर ४ महासंग्राम’मा बरालले भने ।
कांग्रेस आफूले मात्र जित्ने नभई गठबन्धन नै जिताउने अभियानमा रहेको उनले बताए । बरालले भने, ‘२०७४ मा एमालेले दुई तिहाइ हाराहारीको बहुमत पाएपछि स्थिरता र विकास हुन्छ भन्ने हाम्रो बुझाइ थियो । तर एमालेभित्र झगडाले त्यो पूरा हुन सकेन । र, पाँच दलीय गठबन्धन आवश्यकता भयो । अहिले हामी आफू मात्र जित्ने होइन, गठबन्धनका सबै दललाई विजयी गराउन लागेका छौं । गठबन्धन दलले कांग्रेसलाई भोट हाल्छन्, कांग्रेसले पनि गठबन्धन दललाई भोट हालेर जिताउँछन् ।’
बेरोजगारी समस्या समाधान, कृषिको रुपान्तर, पूर्वाधार, उद्यम र पर्यटन विकास आफ्नो चुनावी एजेन्डा भएको पनि बरालले बताए । उनले भने, ‘पोखरालाई प्रकृतिले चिनाएको रहेछ । तर राजनीतिक दल र नेतृत्वले चिनाउन सकेको रहेनछन् । हामी अब त्यसलाई सच्चाउँछौं ।’ निर्वाचनको अभियानमा कहीं कतै पार्टी र गुटको विवाद नभएको उनले औंल्याए ।
कार्यक्रममा हाम्रो नेपाली पार्टीका उम्मेदवार प्रमोद आचार्यले टेस्टेड नेताहरुलाई भोट दिनु नहुने बताए । उनले भने, ‘हामीले युवा र नयाँलाई नो नट अगेन भनेका छैनौं, पटक पटक चुनाव जितेर भ्रष्टाचारलाई नै नीति बनाउने नेताहरुलाई फेरि किन भोट हाल्ने ? हामी कुराभन्दा काम गर्न व्यग्र छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot