Logo

नारायण काजि श्रेष्ठले सुनाए गठबन्धनका मुख्य तीन काम



काठमाडौँ,१८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीनकाम भएको बताएका छन् ।

गोरखा समाज चितवनले आज यहाँ आयोजना गरेको गोरखाको समग्र विकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ ।” गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको बताए। लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि गठबन्धनको जित आवश्यकता रहेको उनको भनाइ थियो । शान्ति प्रक्रियाका केही अवशेष रहेको भन्दै उनले त्यसलाई पूरा गर्नका लागि गठबन्धन आवश्यक भएको बताए । उनले भने, “द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ । त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ ।”

जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निरासा पैदा हुँदा राष्ट्रियतामाथि खतरा हुने र राज्य असफल हुने बताए । संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले भने, “यो गठबन्धन निश्चित उद्देश्यका साथ बनेको छ । त्यो उद्देश्य पूरा गर्छ ।”

उनले गोरखाको विकासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी इतिहास सावित हुने बताए । गोरखा पर्यटकीय, सामाजिक तथा विकासका दृष्टिकोणले सम्भावना बोकेको जिल्ला भएको भन्दै उहाँले यसको विकासका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट गोरखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाई, प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार कृष्णप्रसाद धिताल र २ (ख) का उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धन मिलेर विकास सम्भव कसरी हुन्छ भन्ने देखाउने बताए । दलहरु प्रति जनताको आस्था गुम्दै गएको समयमा गठबन्धनले नयाँ आयाम थपेको उनिहरुको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्