Logo

सुरुमा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ, त्यसपछि प्रचण्ड र माधव नेपालको पालो आउलाः कमलबहादुर शाह



काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कैलाली २ (क) का उम्मेदवार कमलबहादुर शाहले पाँच दलीय गठबन्धनमा सुरुको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने ठोकुवा गरेका छन् ।
‘अहिले हामी ५ दल मुलुकको अवस्था अनुसार एकै ठाउँमा छौं । हल्लाका कुरा आफ्नो ठाउँमा छ । सुरुको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्नुहुन्छ । त्यसपछि प्रचण्ड र माधव नेपाल हुनुहोला,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहले भने ।
साथै उनले सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार बन्ने र मुख्यमन्त्रीमा आफ्नो प्रबल दाबेदारी रहेको पनि बताए । शाहले भने, ‘मुख्यमन्त्री कांग्रेसले पाउनुपर्छ र मैले पाउनुपर्छ । मुख्यमन्त्रीमा मेरो प्रबल दाबेदारी छ ।’ उनले समानुपातिक निर्वाचन प्रणालीले जनताप्रति जवाफदेही नबनाएको आरोप पनि लगाए । उनले थपे, ‘प्रत्यक्ष अनुमोदित भएर मात्र सांसद बन्नुपर्छ । समानुपातिक सांसद जनताप्रति उत्तरदायी बनेको देखिएन ।’
देशभरि गठबन्धनको पक्षमा राम्रो माहोल बनेको र आफ्नो जितमा ढुक्क रहेको पनि शाहले बताए । उनले भने, ‘मैले सामाजिक क्षेत्रमा धेरै काम गरेको छु । कोरोनाका बेला अटो एम्बुलेन्स लिएर पहाडसम्म पुगेको छु । माक्स, सेनिटाइजर, औषधी लिएर पुगेको छु । बाढीपहिरोमा जनतालाई साथ दिएको छु । जनतालाई कमल शाहले केही गर्न सक्छ भन्ने विश्वास छ ।’
उनले आफूले रोजगारी सिर्जनाका लागि निरन्तर दबाब दिने र कर्णालीको पानी घरघर पुर्याउने वाचा पनि गरे । शाहले भने, ‘बाढीपहिरो, सिँचाइ, खानेपानी लगायतका समस्या छन् । विगतका जनप्रतिनिधिले काम गर्न नसक्दा धेरै चुनौती छन् । सबै कुरा एकैचोटि समस्या समाधान हुँदैनन् । तर म पहिलेभन्दा राम्रो डेलिभरी गर्छु ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot