Logo

सत्ता मोलमोलाइमा शक्तिशाली



काठमाडौं, पुस ११ । राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण निर्माण ।

आइतबार दिउँसोसम्म लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा रहेको सत्ता समीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको समय घर्किनै लाग्दा एकाएक वाम गठबन्धनसहितको सत्ता समीकरणमा परिवर्तन भयो । प्रतिगमनकारी भनिएका एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक अग्रगमनकारी साबित हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहणको भर्‍याङ बन्न पुगे ।

संयोग कस्तो भने ठ्याक्कै दुई वर्षअघि अर्थात् २०७७ पुस १० मा ओलीको प्रतिगमनविरुद्ध माधव नेपालसँगै सडकमा ‘हामी यहाँ छौं’ भन्ने दाहाल त्यसको दुई वर्षपछि २०७९ पुस १० गते नै ओलीको बालकोट बार्दलीमा पुगेर ‘हामी यहाँ छौं’ भन्दै ओलीसँगै अभिवादन गरिरहेका देखिए ।

राजनीतिमा कसको जित कसको हार भयो भनेर भविष्यमा समीक्षा हुँदै गर्ला तर अहिलेका लागि सत्तामा नगई नहुने दाहालको चाहना पूरा भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट तेस्रो दलको भूमिकामा खुम्चिएर कमजोर बनेका दाहाल सत्ताको मोलमोलाइमा भने सबैभन्दा शक्तिशाली देखिए । दुई तहको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन बनाएर निर्वाचन लडेका दाहालले अन्तिम चरणसम्म पनि गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्ने प्रयास गरिरहे । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्