Logo

‘स्ववियु निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न नेविसंघको ध्यानाकर्षण’



काठमाडौं, २८ पुष। नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन समयमै सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण गराएको छ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति सार्वजनिक गर्दै स्ववियुको निर्वाचन समयमै सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण गराएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनका दुई मूलभूत चरित्र छन् : एउटा शैक्षिक उन्नयनको सुनिश्चितता र अर्को आम मानिसको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने विषयमा निरन्तर आवाज उठान। विस २००७ सालमा जनताको बोल्न पाउने अधिकार र आर्थिक राजनीतिक स्वतन्त्रताको आधारशीला निर्माणमा विद्यार्थी नै अग्रमोर्चामा थियौ। विस २०३६ सालको जनमत संग्रह, ०४६ सालको जनआन्दोलन र २०६२ / ६३ को आन्दोलनको बेला हाम्रा अग्रजले देश निर्माण र शैक्षिक प्रगतिमा पुऱ्याएको योगदान स्मरण गर्दै नयाँ सामाजिक परिवेशमा नवीनतम सोच निर्माण गरेका नयाँ पुस्तामा विद्यार्थी साथीहरु माझ विगतको साहस वर्तमानको दायित्व र भविष्यको अठोटका लागि सक्षम रहन आग्रह गर्दछु। समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगार को सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाईलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य शर्त भएको छ।’

यस्तै ‘चैत ५ गते हुने स्ववियु निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन चाहान्छु, साथै स्ववियु निर्वाचनका लागि सम्पुर्णरुपमा तयार रहन देशभरका नेविसंघका साथीहरूलाई अनुरोध गर्दछु।’ विज्ञप्तिमा भनिएको छ।

स्ववियु निर्वाचनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन घोषणा पत्र तयारी समितिमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व र प्रचारप्रसार समितिमा डा. सन्तोष उपाध्यायलाई संयोजकमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot