Logo

पोखरा विमान दुर्घटना : ब्ल्याक बक्स भोली सिङ्गापुर लगिदै



काठमाडौं, माघ १२। माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर लगिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको बताए।

उनले भने, “दुर्घटनाका कारण पहिल्याउन महत्त्वपूर्ण मानिएको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका जाँचबुझ समितिको तीन सदस्यीय टोली शुक्रबार सिङ्गापुर जाँदै छ । परीक्षणका क्रममा फेला परेका तथ्यमा थप अध्ययन तथा विश्लेषण गरेर टोली एक हप्तामा नेपाल फर्किनेछ ।”

जाँचलाई थप प्रभावकारी बनाउन फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनी र क्यानडाबाट विमानको इन्जिन निर्माता कम्पनीको टोलीसमेत सिङ्गापुर आउने उनले बताए ।

ब्ल्याक बस्कको परीक्षण गर्ने संसारभरका प्रयोगशालामध्ये सिङ्गापुर सरकारले स्थापना गरेको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरो विशेष सुविधासम्पन्न प्रयोगशाला रहेको उनले जानकारी दिए । यसअघि फ्रान्स, सिङ्गापुर वा बेलायत कुन देश पठाउने भन्नेबारे भएको छलफलबाट दुर्घटनाको स्वतन्त्र, सत्यतथ्य र प्रभावकारी अनुसन्धान तथा नजिकको प्रयोगशालाको आधारमा सिङ्गापुर लैजाने तयारी भएको उनको भनाई छ ।

उनका अनुसार ब्ल्याक बस्कको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार परीक्षण हुनेछ । हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा नेपालको सिङ्गापुर, बेलायत र फ्रान्ससँग सम्झौता रहेकाले परीक्षण निःशुल्क हुनेछ ।

दुर्घटनाका कारण पहिल्याउन ब्ल्याक बक्समा रेकर्ड भएका फ्लाइट डेटा र ककपिट भोइस दुवैको गहन अध्यनबाट दुर्घटनाको सत्यतथ्या बाहिर ल्याउन सहज हुने उनले बताए ।

सिङ्गापुरमा हालसम्म उपलब्ध भएका तथ्याङ्क र ब्ल्याक बक्सबाट प्राप्त हुने तथ्याङ्कमाथि विज्ञहरूले छलफल गर्नेछन् ।

आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिरहेको छ । विमान दुर्घटनापछि फ्रान्सबाट नेपाल आएको एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ । सरकारले दुर्घटनाको सत्य तथ्य कारण बाहिर ल्याउन जाँचबुझ समितिलाई ४५ दिनको समय सिमा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्