Logo

राष्ट्रिय सहमति हुन सक्ने पात्र एमालेले अघि सारोस् न तः माओवादी नेता



काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ भन्दा तरंगित नहुन एमाले नेतृत्वलाई सुझाव दिएका छन् ।
‘प्रधानमन्त्रीले राष्ट्रिय सहमति हुनुपर्छ भनिरहँदा एमालेको नेतृत्व यसमा तरंगित हुन पर्दैन । यसबारे सर्वदलीय बैठक राखेर छलफल गरौं न । राष्ट्रिय सहमति कुन पात्रमा गर्न सक्छौं भन्ने कुरा एमालेले नै प्रस्ताव अघि सारोस् न त । कांग्रेसले प्रस्ताव गरेको पात्रमा सहमति हुन सक्छ भने त्यसमा पनि खुला छलफल गरौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण शंशय उत्पन्न भएको पनि औंल्याए । शर्माले थपे, ‘पुस १० गते एउटा सोलोडोलो सहमति भयो । तर संसदको पहिलो दिन नै ओलीले विगतको प्रतिनिधिसभा विघटन ठीक थियो, अब पनि हुन सक्छ भन्नुभयो । त्यसैले अब यो व्यवस्था र संसदलाई कसरी बचाएर लाने भन्ने चुनौती छ । राष्ट्रपति भनेको पार्टीको बुँख्याचा त होइन नि । मन्त्रालय बाँडफाँड गरेजस्तो त होइन नि ।’
सरकार छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीले केटौले प्रवृत्ति देखाएको पनि शर्माले आरोप लगाए । उनले भने, ‘रवि लामिछानेका बारेमा कैयौं प्रश्नहरु छन् । अदालतले एकखाले फैसला दिएपछि पनि घुमाइफिराइ रविलाई नै गृहमन्त्री बनाउन खोज्ने, गृहमन्त्रालय नपाए सरकारमा बस्दैनौं भन्ने केटौले कुरा आए । यसमा उसले पुनर्विचार गर्नुपर्छ । रविले जे मिडिया जगत्माथि जे जस्ता आरोप प्रत्यारोप र आक्रोश व्यक्त गरे, त्यसले शंशय पैदा गरेको छ । यसमा उनी आत्मालोचित हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot