Logo

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध विभिन्न ३५ संघ/संस्थाद्धारा फागुन ५ गतेदेखि संयुक्त आन्दोलनको घोषण



काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले भूकम्प, कोरोना महामारीलगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बताए । बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीहरुले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उनको भनाई छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैकहरु फाइदामा लगानीकर्ता घाटामा भएको बताए । कोभिडदेखि यातायात व्यवसाय अस्तव्यस्त भएको उनको भनाइ छ । अहिले सबैको पेशा व्यवसाय बामे सरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा पारेको उनको आरोप छ ।
‘सुरुवातमा बैक तथा वित्तीय संस्थाबाट हामीले जतिमा बैंक ऋणीको सहमतिमा हामीले लोन लिएका हुन्छौं । सो लोन आज ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पुर्याएका छन् । यो कहाँको दादागिरी हो ? यसैका लागि सरकारलाई हामीले बुलन्द ढंगबाट अनुरोध गरिरहेका छौं । हामी अन्यायमा परेका छौं,’ उनले भने ।

यातायात क्षेत्रले प्रत्यक्ष रूपमा ११ लाख जनशक्तिलाई रोजगार दिइरहेको स्मरण गर्दै उनले अहिले उक्त व्यवसाय धरापमा रहेको बताए । भारतबाट नेपाल छिरेका मालवाहक सवारीसाधन ओभरलोड बोकेर काठमाडौंदेखि पूर्व पश्चिम गइरहेको बेलामा नेपालका नेपालका यातायात व्यवसायी चाहीँ काम नगरी बस्ने दिन आएको उनको भनाई छ । यातायात क्षेत्रका व्यवसायी लिलामको लाइनमा रहेको उनको भनाइ छ । गरिखान देऊ भन्दा पनि व्यवसायीको गुनासो सरकारले नसुनेको उनको आरोप छ । नेपालका घाटा नभएको व्यवसायमा बैंक र इन्सुरेन्स रहेको र केही व्यक्तिले देशको सिंगो अर्थतन्त्रलाई मुठ्ठीमा राखेको उनको आरोप छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताए । सझौंला र साना व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उनको आरोप छ । ‘मझौला र साना खाल्का उद्यमी व्यवसायीहरु जसले बैंकको सर्पोटबाट आफ्नो उद्यम सञ्चालन गरिरहनु भएको छ । कोभिड–१९ पछाडि देशको अर्थतन्त्र धराशायी भएको छ । अर्थतन्त्र धराशयी भएको सन्दर्भमा व्यवसायीले आफ्नो व्यवसायलाई पुनर्जीवन दिन नसकिरहेको अवस्थामा बैकले एकतर्फी रुपमा विना छलफल, आवश्यकता पनि नभएको बेलामा व्याजदर बढाएको छ । जसको मारका लाखौं लाख व्यवसायी परेका छन,’उनले भने । व्यवसायीलाई धरासायी बनाएको अवस्थामा देशका जनशक्ति विदेशिने अवस्था आएको उनको भनाई छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेत्र साना व्यवसायी भएको उनको दाबी छ । कोभिडको महामारीबाट तङ्ग्रिन नपाउँदै सरकारको अदूरदर्शी नीतिका कारण व्यवसायी मारमा परेको उनले बताए । आफूहरुले आठ प्रतिशतमा लिएको ऋण बैंक तथा वित्तीय संस्थाले दोब्बर बनाउँदा पनि सरकार मौन बसेको उनको आरोप छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण कयौं उद्योग बन्द हुने अवस्थामा रहेको भन्दै उनले बैंक तथा वित्तीय संस्थाबीच सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । ‘कसैले नियतवश बैंकलाई व्याज नतिर्ने, बैकलाई धरासायी बनाउने नियत राखे कारबाही गर्नुस् । एउटा ठूलो उद्योगले लिएको ऋणले सय वटा उद्योगलाई दिन पुग्छ । साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले कदम चाल्नैपर्छ । यस्तो कठिन अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको नाफा कयौं गुणा छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको समाजिक उत्तरदायित्व पनि हुन्छ । हामीलाई सडकमा आउने वातावरण नबनाइयोस्,’–उनले भने ।
नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई अहिलेका युवा पुस्तालाई यो देशमा गरिखाने वातावरण नभएको बताए । आफूहरुले अहिले कमाउनका लागि भन्दापनि बाँच्नका लागि संघर्ष गरिरहेको उनको भनाई छ । आफूहरु नयाँ प्रविधि भित्र्याउन लागिपरेपनि सरकारले यसतर्फ ध्यान दिन नचाहेकोे भन्दै युवालाई गरिखाने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरे ।

नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु प्रेम आचार्य हुने अवस्था आएको बताएका छन् । ‘अहिले व्यपार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरुलाई प्रेम आचार्य हुनलाई त्यति गार्हो नहोला भन्न सकिन्न । हामी सम्पूर्ण प्रेम आचार्य हुनसक्छौं । त्यो कारण बैंकको चर्को व्याज हो,’ उनले भने । बैंकको चर्को व्याजको ज्यादती विरुद्ध आन्दोलनमा उत्रनुको कुनै विकल्प नभएको उनको भनाइ छ । व्यसायी पीडामा छटपटाइरहेको बेला सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । व्यापारीलाई सडकमा आउने स्थितिको निर्माण सरकार स्वयंले गरेको उनको दाबी छ । सरकार व्यवसायीको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउँदै उनले सरकारले व्यसायीका लागि सहज वातावरण बनाउन पर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कोभिड–१९ को मारमा परेका व्यसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्को रुपामा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाए । बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको उनले बताए ।
‘हामीलाई अत्याउने, धम्क्याउने काम भएको छ । पत्रिकामा फोटो निकालिदिउँ भनेर बैंक तथा वित्तीय संस्थाबाट धम्की आउने गरेको छ । दुई लाख लोन लिएका व्यवसायीले दश लाखको जग्गा जमिन छोड्ने अवस्था आएको छ । सुकुम्बासी समस्या समाधानका लागि सरकारले करोडौं खर्च गरिरहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले आज व्यसायीलाई सुकुम्बासी बनाउँदै छन् । यो कहाँको न्याय हो,’ उनले प्रश्न गरे । व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने उनको दाबी छ । बैंक तथा वित्तीय संस्था नव सामन्त भएर उदाएको उनको आरोप छ ।

संयुक्त पत्रकार सम्मेलनका संयोजक नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताए । उद्योग र व्यसायभित्र सिण्डिकेट रहेको उनको आरोप छ । मुलुकको अर्थतन्त्रमा प्रभाव पार्नसक्ने नेपालको थोरै व्यक्ति रहेको र तिनीहरु पनि नेपाली मूलको नभएको बताए ।
बैंक तथा वित्तीय संस्थाको चर्को व्याजका विरुद्धमा आगामी फागुन पाँच गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको पनि उनले बताए । फागुन पाँच गतेसम्म पनि सरकारले आफ्ना माग सम्बोधन नगरे व्यसायीले बैंकिङ कारोबार बन्द गर्ने उनको चेतावनी छ । साथै, व्यवसायीले सरकारलाई आफ्ना अद्योगका ताला चाबी सरकारलाई जिम्मा लगाउने उनको भनाई छ । सरकारको व्यवहारले व्यवसायीलाई कही प्रेम आचार्य त बनाउन लागेको होइन भन्ने आशंका उब्जाएको उनको भनाइ छ ।

‘हामी (फागुन ५ गते) शान्तिपूर्ण ढंगले बानेश्वरमा गएर आन्दोलन गर्छौं । यसमा देशभरका संगठनको सहभागिता हुन्छ । त्यो दिनसम्म सरकार तथा सरोकारवाला निकायले हाम्रो माग सम्बोधन नगरे हामी बैंक तथा वित्तीय संस्थासँगको कारोबार बन्द गर्छौं । नेपाल राष्ट्र बैंकले यसको ग्यारेन्टी लिनपर्छ । हामी आन्तरिक रुपमा काम गरेर बैंकहरुसँगको कारोबार बन्द गरिदिन्छौं । हाम्रो उद्योग, व्यपार व्यवसाय स्थलमा रहेको सम्पूर्ण चाबी र ताला नेपाल सरकारलाई लगेर हामी बुझाउँछौं । कही प्रेम आचार्य त बनाउन लागिएको हैन हामीलाई ?,’उनले प्रश्न गरे ।

व्यवसायीहरुको पीडालाई संसद्मा बहस चलाउन पनि उनले सांसदहरुसँग आग्रह गरे । अहिलेकै अवस्था कायमै रहे हजारौं व्यवसायीले आत्महत्या गरेको हेर्न तयार हुन पनि उनले सरोकारवाला निकायलाई चेतावनी दिएका छन् । हजारौं समयस्याका बीचमा संघर्ष गरिरहेको व्यसायीलाई काम गर्ने सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका कोषाध्यक्ष धर्मराज रिमाल, नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

संयुक्त प्रेस विज्ञप्ती

मितिः२०७९।१०।२८
बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर तथा ज्यादतीपुर्ण कार्यको विरुध्द ऐक्यबद्धता विभिन्न व्यवसायीक महासंघ तथा संघहरुद्वारा जारीः
संयुक्त प्रेस विज्ञप्ती
हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा महाभूकम्प, कोरोना महामारी, अन्तराष्ट्रिय आर्थिक मन्दी एवं सरकार तथा सम्वन्धित निकायको गैर जिम्मेवारी पूर्ण निति र व्यवहारका कारण देशको अर्थतन्त्र तहस नहस भई संकटग्रस्त वन्न पुगेको कुरा सम्पूर्ण आमनागरिकमा जानकारी नै छ । मुलत ः देशको अर्थतन्त्र चलाउने निकायले सिमित घेरा भित्र रहेको समूहको स्वार्थमा केन्द्रित रहेर काम गर्नाले नै यस्तो परिस्थीतीको सिर्जना भएको हो । यसको प्रत्यक्ष मार भने साना तथा मझौला उद्योगी व्यवसायी वर्गले भोग्नु परेको छ । जसका कारण आज देशमा उद्योग धन्दा बन्द हुने र रोजगारी गुम्न पुगी बैदेशीक रोजगारीमा श्रम बेच्नु परेको छ । देश विकासमा लगाउनु पर्ने दक्ष श्रम बिदेश पलायन हुनु परेपछि देशको आर्थिक उन्नती कहिले र कसरी होला ? देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको सम्पूर्ण उद्योगी व्यवसायीहरु आफ्नो पेशा व्यवसायबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तिय क्षेत्रको अब्यवहारिक गलत निति, निजि स्वार्थ, सरकारले दिर्घकालिन उत्पादनमुखी अर्थतन्त्र तर्फ प्राथमिकता नदिनु एवम् मुलुकमा रहेका राजनैतिक दलहरुको गैर जिम्मेवारीपुर्ण कार्य शैली नै प्रधान हुन । यही किसिमको अर्थ निति र सिर्जित परिस्थितीले नै व्यवसायी निराश भइ आत्महत्या गर्ने बाटो रोज्न पुगिरहेका छन् । यस तर्फ सम्बन्धीत पक्ष तथा निकायको ध्यान जाओस् भन्दै ध्यानकर्षण गराउने प्रयत्न गरिरहेका छौं । यस किसिमको भयाभव र विकराल अवस्थाको अन्त्यका लागि सरकार, सम्बन्धित निकाय यथासिघ्र व्यवसायी वातावरणको बाटो तर्फ उन्मुख निति लिई कार्यान्वयनको दिशामा लाग्न ध्यानकर्षण गराउन चाहन्छौं । सोही उद्देश्यका लागि देशको अर्थतन्त्र जोगाउन र गरिखाने बातावरणको लागि बाध्य भइ सम्पुर्ण उद्योगी व्यवसायीहरुको संयुक्त माग सहित हामी देशकै प्रमुख ब्यवसायीक महासंघ तथा संघहरु सडक र संघर्षमा उत्रिएका छौं । तत्काल तल उल्लेखित मागहरु सम्बोधन नभए थप सघर्षका कार्यक्रम सहित, बैक तथा वित्तिय संस्था संगको आर्थिक कारोवार बन्द गरी हाम्रा उद्योग, पसल एवम् ब्यवसायीक प्रतिष्ठानका ताला चाबी सरकार वा सम्बन्धित निकायलाई बुझाइनेछ ।

हाम्रा मागहरुः
१. बैकिङ्ग व्याजदर १ अंकमा कायम गर ।
२. बैकिङ्ग ब्याजदरमा एकरुपता कायम गर ।
३. अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर ।
४. सहुलियत कर्जा १५लाख बाट २५ लाख सम्म कायम गर ।
५. बैक तथा वित्तिय क्षेत्रले गर्ने लगानी कम्तीमा ५०% साना तथा मझौला व्यवसायीमा गर्नु पर्ने ।
६. व्याज स्प्रेडदर बढीमा २% कायम गर ।
७. कर्जा सेवा शुल्क ०.२५% भित्र कायम गर ।
८. ओभर ड्राफ्टलाई सहज र सरलिकरण गराउ ।
९. संकटग्रस्त व्यवसायीको पहिचान गरी आर्थिक राहत प्याकेज प्रदान गर ।

संघर्षका लागि ऐक्यवध्द विभिन्न आयोजक महासंघहरु
१. श्री कुमार कार्की नेपाल राष्ट्रिय व्यवसायी महासंघ
२. श्री बिजय बहादुर सुनुवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
३. श्री विश्वनाथ खनाल ढुवानी व्यवसायी महासंघ नेपाल
४. श्री रामकृष्ण श्रेष्ठ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ
५. श्री भरत भट्टराई नेपाल मोवाईल व्यवसायी महासंघ
६. श्री मोहन कटुवाल ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल
७. श्री डोलनाथ खनाल सार्वजानिक यातायात केन्द्रीय महासंघ नेपाल
८. श्री दिनेश कुमार चुके होटल व्यवसायी महासंघ

ऐक्यवध्द विभिन्न सदस्य संघहरु
९. श्री हरि बहादुर गौतम नेपाल व्यापार संघ
१०. श्री सरोज कुमार श्रेष्ठ राष्ट्रिय व्यापार संघ
११. श्री माधब खरेल एकता व्यापार संघ
१२. श्री गणेश कुमार न्यौपाने खिचा पोखरी न्यूरोड व्यापार संघ
१३. श्री विना श्रेष्ठ रञ्जना व्यापार संघ
१४. श्री रत्नबहादुर घिमिरे सिभिल मल व्यवसायी संघ
१५. श्री दक्षमणी गौतम नेपाल जुक्ता चप्पल उद्योग व्यवसायी संघ
१६. श्री चन्द्र लामिछाने भोटेबहाल तयारी पोषाक यापार संघ
१७. श्री नविन लुईटेल नयाँ बानेश्वर व्यापार व्यवसायी संघ
१८. श्री गोरख बहादुर थापा कोटेश्वर व्यावसाय संघ
१९. श्री दिनेश श्रेष्ठ फेन्सी व्यावसायी संघ नेपाल
२०. श्री राजेन्द्र कुमार प्रजापती भक्तपुर रेडिमेड व्यापार संघ
२१. श्री मिलन श्रेष्ठ ललितपुर तयारी पोषाक व्यापार संघ
२२. श्री शेखर चन्द्र राई बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ
२३. श्री नवराज भण्डारी नेपाल अनलाईन बिजनेश एशोसिएसन
२४. श्री सीताराम रिमाल ई—कमश एशोसिएसन अफ नेपाल
२५. श्री होम नाथ गिरी एन.बि.टि.सि व्यापार संघ
२६. श्री अचुतम कटवाल नेपाल निमार्ण सामाग्री व्यापार संघ
२७. श्री शिव ढकाल काठमाण्डौं मल व्यापार संघ
२८. श्री नानी राज घिमिरे फुटवेयर म्यानुफ्याक्चरस एशोसिएसन अफ नेपाल
२९. श्री प्रसान्त ढकाल विजि मल व्यापार संघ
३०. श्री असोक लामा नागर्जुन व्यापार संघ
३१. श्री वाल कुमार घिमिरे के. एल टावर व्यवसायी समिति
३२. श्री समिर यादव जयन्ती व्यापार संघ
३३. सगरमाथा सपिङ कम्प्रेक्स
३४. श्री होम सुवार सुरज आर्केड व्यापार संघ
३५. श्री रिसिकेस तिमल्सिना नेपाल कस्मेटिक व्यावसायीक संघ
३६. श्री युवराज चापागाईं पिपुल्स प्लाजा व्यापार संघ
३७. आर वि कम्प्रेक्स
३८. श्री नरेन्द्र गुप्ता विशाल बजार व्यापार संघ
३९. श्री रुकमणि सेढाई चहानाम व्यपार संघ
४०. नयाँ इम्प्रेक्स व्यापार संघ
४१. श्री दिपक चौलागाईं बौद्घ व्यापार संघ
४२. श्री कृष्ण पराजुली नेपा कम्पलेक्स व्यापार संघ
४३. श्री सुवाश श्रेष्ठ सामाखुसी व्यापार संघ



प्रतिक्रिया दिनुहोस्

Screenshot