Logo

बैंकको ऋणमा सहमतिभन्दा बाहिर गएर व्याजदर बढाउनु दादागिरी हो– सरोज सिटौला



काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैकहरु फाइदामा लगानीकर्ता घाटामा भएको बताए । कोभिडदेखि यातायात व्यवसाय अस्तव्यस्त भएको उनको भनाइ छ । अहिले सबैको पेशा व्यवसाय बामे सरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा पारेको उनको आरोप छ ।
‘सुरुवातमा बैक तथा वित्तीय संस्थाबाट हामीले जतिमा बैंक ऋणीको सहमतिमा हामीले लोन लिएका हुन्छौं । सो लोन आज ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पुर्याएका छन् । यो कहाँको दादागिरी हो ? यसैका लागि सरकारलाई हामीले बुलन्द ढंगबाट अनुरोध गरिरहेका छौं । हामी अन्यायमा परेका छौं,’ उनले भने ।

यातायात क्षेत्रले प्रत्यक्ष रूपमा ११ लाख जनशक्तिलाई रोजगार दिइरहेको स्मरण गर्दै उनले अहिले उक्त व्यवसाय धरापमा रहेको बताए । भारतबाट नेपाल छिरेका मालवाहक सवारीसाधन ओभरलोड बोकेर काठमाडौंदेखि पूर्व पश्चिम गइरहेको बेलामा नेपालका नेपालका यातायात व्यवसायी चाहीँ काम नगरी बस्ने दिन आएको उनको भनाई छ । यातायात क्षेत्रका व्यवसायी लिलामको लाइनमा रहेको उनको भनाइ छ । गरिखान देऊ भन्दा पनि व्यवसायीको गुनासो सरकारले नसुनेको उनको आरोप छ । नेपालका घाटा नभएको व्यवसायमा बैंक र इन्सुरेन्स रहेको र केही व्यक्तिले देशको सिंगो अर्थतन्त्रलाई मुठ्ठीमा राखेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot