Logo

डा. रामशरण महतलाई ‘रोलमोडल’ मानेर अघि बढ्दा अर्थतन्त्र चलायमान गराउन सकिन्छः डा. पोखरेल



काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका नेता एवं अर्थविद् डा. गोविन्दराज पोखरेलले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई चुनौती र अवसर दुवै रहेको बताएका छन् ।
‘डा. महत अर्थशास्त्रमा पीएचडी गरेको, राष्ट्रिय योजना आयोग, परराष्ट्र र ऊर्जा मन्त्रालय सम्हालेको, सरकारी संरचना र कर्मचारीको कार्यशैली बुझेको, सैद्धान्तिक ज्ञान भएको परिपक्व राजनीतिज्ञ हुनुहुन्छ । उहाँको सफलता वा असफलता सरकारी संयन्त्र कसरी चलाउनुहुन्छ, कर्मचारीमा अनुशासन कायम गर्न र उत्साह भर्न कत्तिको सक्षम मान्छे छान्नुहुन्छ, त्यसमा निर्भर गर्नेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. पोखरेलले भने ।
उनले अर्थमन्त्री डा. महतलाई विभिन्न महत्त्वपूर्ण सुझाव दिए । डा. पोखरेलले भने, ‘आर्थिक सुशासन कायम गर्नु अहिलेको प्रमुख एजेन्डा हो । त्यसका लागि फजुल खर्च घटाउनुपर्छ । विकास खर्च नभएको र अलमलिएका आयोजना सम्पन्न गर्नुपर्ने अवस्था छ । बजेटको आकार घटेको छ । राजस्व उठेको छैन । उत्पादन, रोजगारी र अर्थतन्त्र चलायमान बनाउने गरी बजेट बनाउनुपर्छ ।’
अर्थमन्त्री डा. महतले गरिखाने वर्गमा आएको निराशा चिर्न रुपान्तरणकारी काम गर्नुपर्ने पनि उनले औंल्याए । डा. पोखरेलले भने, ‘आन्तरिक रुपमा आन्तरिक उत्पादन घटेको छ । व्यवसायी निराश छन् । व्यापार घाटा बढेको छ । वैदेशिक ऋण बढेको छ । ब्याजदर महँगो छ । ऋण लिने अवस्था छैन । गरिखाने वर्ग निरुत्साहित भएको छ । अनौपचारिक अर्थतन्त्र फस्टाएको छ । राजस्वमा चुहावट छ । यस्तो बेला हचुवामा आयोजना थप्ने भन्दा पनि सम्पन्न नभएका आयोजनामात्र सम्पन्न गर्ने, ठूला राजमार्ग र प्रसारण लाइनलाई महत्त्व दिँदा अर्थतन्त्रलाई चलायमान गराउन सकिन्छ ।’
पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई ‘रोलमोडल’ मानेर अघि बढ्न सकिने पनि उनले औंल्याए । डा. पोखरेलले भने, ‘डा. रामशरण महत धेरै मानेमा सफल हुनुभएको थियो । उहाँ योग्य र सक्षम मानिस राखेर काम गर्नुहुन्थ्यो । राजनीतिभन्दा अर्थतन्त्रमा ध्यान दिनुहुुन्थ्यो । अर्थमन्त्रीको निर्देशनले मात्र काम गर्दैन । हरेक दिन अपडेट हुनुपर्छ । अहिलेका अर्थमन्त्रीले नेपाल बुझेको र सरकारी संयन्त्रमा काम गरेकाले इच्छा भए समस्या नहोला ।’
अहिलेको अवस्थामा आन्तरिक उत्पादनलाई बढावा दिने नीति आवश्यक रहेको पनि उनले औंल्याए । डा. पोखरेलले भने, ‘हामी विदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सबाट चलिरहेका छौं । ११ महिनालाई पुग्ने वैदेशिक मुद्रा छौं भन्छौं । अफ्रिकाको एभोकाडो, ल्याटिन अमेरिकाको सिमी र चीनको गुन्द्रुक ल्याएर खाने हैसियत रेमिट्यान्सले नै दिएको हो । स्थानीय सरकारका अनुदान उत्पादनमा आधारित छैनन् । कार्यकर्तालाई पोस्ने खालका मात्र छन् । अब आन्तरिक उत्पादनको निर्यात बढाउनुको विकल्प छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot