Logo

रवि लामिछाने मेरा प्रतिस्पर्धी होइनन्ः जितनारायण श्रेष्ठ



काठमाडौं, २१ चैत । चितवन २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले समृद्ध चितवन बनाउने अभियानमा आफू लागेको बताएका छन् ।
‘म यहाँको धर्तीपुत्र हुँ । यहाँको माटोमा विगत २७ वर्षदेखि गरेका सामाजिक र राजनीतिक कामको मूल्यांकन गरेर पार्टी र गठबन्धनले मलाई आधिकारिक उम्मेदवार बनाए । अब समृद्ध चितवन बनाउने मेरो जिम्मेवारी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले भने ।
कांग्रेस नेता श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ लाई राजनीतिक प्रयोगशाला बनाएको आरोप पनि लगाए । उनले भने, ‘जनताले के बुझेका छन् भने चितवन २ मा किन उपनिर्वाचन किन हुँदैछ ? यो कसैको राजनीतिक प्रयोगशाला हो र ? मिडिया क्षेत्रमा रहँदा नेतालाई गाली गर्ने, नेता भएपछि मिडियालाई गाली गर्ने ? मंसिर ४ मा सोचेभन्दा फरक परिणाम आयो । तर यसचोटि त्यस्तो हुनेवाला छैन ।’
उनले आफ्नो प्रतिस्पर्धा नेकपा एमालेसँग हुने पनि बताए । उनले भने, ‘मलाई वाम लोकतान्त्रिक शक्तिको पूर्ण सहयोग र समर्थन छ । यस क्षेत्रमा कहिले एमालेले जित्ने र कहिले कांग्रेसले जित्ने गरेका छन् । जनताले हिजोको हावा हुन्डरीलाई राम्ररी बुझेका छन् । यहाँ एमाले नै मेरो प्रतिस्पर्धी हो ।’
कांग्रेसले काम गरेन भन्ने रवि लामिछानेलाई एउटा काम गरेर देखाउन पनि उनले चुनौती दिए । श्रेष्ठले भने, ‘क्यान्सर हस्पिटल, राप्ती जाने पुल कसले बनायो ? कांग्रेसको पालामा थुप्रै विकास भएका छन् । स्कुल, कलेज बनेका छन् । कांग्रेसको काम बिर्सन मिल्दैन । रविजीको चमत्कार बोल्नमा मात्र छ । काममा छैन । माखो पनि मारेका छैनन् । उहाँले थरेको एउटा काम कसैले भन्छ भने नमस्कार गर्न तयार छु ।’
चितवन २ मा नेपाली कांग्रेस एकढिक्का रहेको दाबी पनि श्रेष्ठले गरे । उनले भने, ‘पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको उपस्थितिमा उम्मेदवारी दर्ता भयो । अघिल्लो पटकका उम्मेदवार उमेश श्रेष्ठ सरले नै चुनावी मोर्चा सम्हालिरहनुभएको छ । कांग्रेस एकढिक्का छ । यहाँको मुख्य शक्ति माओवादी केन्द्र हो । माओवादीले समर्थन गर्ने कुरामा समस्या छैन । गठबन्धन दलहरु पनि एकढिक्का छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot