Logo

रास्वपाका प्रमुख सचेतकलाई प्रश्न– पैसा उठाउने कोर टिममा को को छन् ?



काठमाडौं, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप बाहिर आएपछि अधिकारसम्पन्न अनुशासन समितिबाट अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
‘रास्वपा चौथो ठूलो दल हो । राजनीतिक दलमा सबै खाले व्यक्ति जोडिन्छन् । पार्टी र व्यक्ति फरक कुरा हो । यो सांसदसँग जोडिएको कुरा हो, पार्टीलाई जोडेर हेर्नुभएन । तैपनि हामीले संसद्मा क्षमायाचना गरेका छौं । पार्टीले छानबिन समिति बनाएको छ । उहाँसँग स्पष्टीकरण लिइएको छ । त्यसले दिएको रिपोर्टका आधारमा कारबाही अघि बढ्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने ।
पैसा उठाउने कोर टिममा को को छन् भन्ने प्रश्नमा उनले थपे, ‘पार्टी र अभियान चलाउँदा पैसा अवश्य चाहिन्छ । हामी सांसदले पार्टीलाई सबैभन्दा बढी पैसा तिरिरहेका छौं । तर त्यसरी व्यक्तिसँग पैसा मागिँदैन । कसैलाई मन्त्री, सांसद बनाउँदा पार्टीमा आर्थिक लेनदेन केही पनि हुँदैन । पार्टीमा कोर टिम कोही छ भन्ने मलाई लाग्दैन । छ भने अनुसन्धानबाट पत्ता लागोस् । ‍’
अडियो टेप काण्ड नेपाली राजनीतिमा मौलाएको विकृतिको उपज भएको उनले बताए । परियारले भने, ‘हामी सबै यही समाज र संस्कृतिको उपज हौं । यो घटनाले हामीलाई असाध्यै मर्माहत बनाएको छ । यसले हामी कस्तो राजनीतिक संस्कारमा छौं भन्ने देखाउँछ । अरुले जस्तै गर्ने हो भने हाम्रो अर्थ के हुन्छ र ? पार्टीले उहाँलाई सांसद बनाएर त्यस्तो भएको होइन । को मान्छे कस्तो हो भन्ने पत्ता लगाउने पार्टी मेसिन त होइन नि ।’ साथै उनले रास्वपालाई सरकारमा जान हतारो नभएको बरु सरकारमा रहेका पार्टीहरुलाई रास्वपालाई लान हतारो भएको टिप्पणी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot