पाल्पा, १० वैशाख । विकास,समृद्धि र सुशासनका लागि हाम्रो अभियान मुल नाराका साथ रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लामा सञ्चालन हुने साक्षरता कार्यक्रम पाल्पामा दोस्रो चरणमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले दिने र लिनेमा पारदर्शीता भए मात्रै सुशासनको प्रत्याभूति हुने बताए । उनले जिल्लाका सम्पूर्ण पालिकाहरुको निगमन गर्ने संस्थाका रुपमा जिल्ला समन्वय समिति स्थापना गरिए पनि बजेट र जनशक्तिको अभावका कारण प्रभावकारी रुप गरे । खनालले जबसम्म जिल्ला समन्वय समितिलाई पूर्ण अधिकार सम्पन्न बनाउदैन तबसम्म स्थानीय तहहरुलाई नियन्त्रण गर्न नसकिने बताए । त्यसका निम्ति राज्यले समयमा नै ध्यान दिन जरुरी रहेको औल्याए ।
यस्तै कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हरेक निकायमा सुशासन कायम भयो भने सर्वागिङ्ग विकास हुनेमा जोड दिए । बास्तोलाले भएको स्रोत साधनलाई सही रुपले सदुपयोग हुन नसकेको र नागरिक पनि पूर्ण सचेत नभएका कारण सुशासन कार्यान्यन फितलो देखिएको जिकिर गरे । सुशासनका निम्ति सबै पक्षहरु सजक र सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
त्यसै गरी तानसेन नगरपालिकाका कार्यबाहक प्रमुख प्रतिक्षा सिंजालीले राज्यको स्रोत साधनलाई सहि रुपमा प्रयोग गरेर जनतालाई विश्वास दिलाउन सके सुशासन कायम हुने र विकासले गति लिने जनाइन् । सिंजालीले जनताको अपेक्षा भन्दा आवश्यक्ताका आधारमा बजेट विनियोजन गरेको र त्यसको नियमन शुक्ष्म रुपमा गर्दै आएको उल्लेख गरिन् । उनले तानसेन नगरपालिकालाई नमुना नगरपालिका रुपमा स्थापित गर्न आफु लागेको बताईन् ।
कार्यक्रममा बोल्दै रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले ऐन, नियम कानून स्पष्ट नहुँदा भौतिक संरचनाको विकास हुन नसकेको वताए । त्यसै गरी पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालनमा सुशासन हुन सके देशमा समृद्धि आउने सक्ने सुझाव दिए ।
माथागढि गाउँपालिका अध्यक्ष राम बहादुर चिदीले पालिकाभित्र रहेको चुनढुङ्गा खानी उत्खनन्को रोयल्टीमा अपारदर्शी भएको हुनाले सम्बन्धित निकायको ध्यान जान आग्रह गर्दै चुस्त राख्न स्थानीय पालिकालाई पनि अधिकार दिनुपर्ने वताए ।
साक्षरता कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले देशमा सुशासन कायम नहुनुको मुख्य कारण नीति नियम स्पष्ट रुपमा लागू नहुनु, जनप्रतिनिधि र कर्मचारीवीच फरक मतभेद हुनु र सेवाग्राहीहरुको कामलाई लापरबाही गरिदिदा समस्या आएको बताए ।
त्यसै गरी बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जनताका अपेक्षा र गुनासालाई अधिकांश रुपमा पूरा गरिसकेको बताउँदै बाँकी रहेका समस्याहरुलाई सरल, सहजरुपमा पारदर्शी सेवादिने गरि अगाडि बढेको बताईन् ।
त्यस्तै कार्यक्रममा बौल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिका सुशासन कायम गर्न सफल भएको जिकिर गर्दै सामान्य गुनासो बाहेक अन्य खासै केही घटनाहरु नभएको बताए ।
तिनाउ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले सुशासनका औजार जबसम्म परिचालन हुँदैन तबसम्म पालिका लगायत सरकारी तथा गैरसरकारी निकायहरुमा पारदर्शिता नदेखिने स्पष्ट पारे । उनले पालिकामा स्थानीय कानून बनाउने विज्ञता नभएकाले हालसम्म कपिपेष्ट तरिकाले चल्दै आएकाले जनताका हुन नसकेको गुनासो गरे ।
साक्षरता कार्यक्रममा सामाजिक अभियान्ता एवं राजनीतिककर्मी माधव नेपालले पालिकाहरुले नयाँ योजना ल्याउन नसक्दा पुरानैलाई मात्रै निरन्तरता दिने र विपद् व्यवस्थापनमा पालिकाको कुनै व्यवस्था र तयारी नरहेको वताए ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख कृष्ण कार्कीले राज्यका सबै संयन्त्र जिम्मेवार र नागरिक सचेत नहुँदासम्म सुशासन कायम हुन नसक्नेमा जोड दिए ।
रिपार्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता टोपलाल गिरीले कार्यपत्र प्रस्तुत गरेको थिए । भने कार्यक्रमको संचालन नारायण वलीले गरेका थिए ।