Logo

निजामती अस्पतालद्वारा राज्यकोषको करोडौं बर्बादी



काठमाडौं, वैशाख १७ । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

निजामती अस्पतालले १० करोड बढी मूल्यका विभिन्न उपकरणहरू किनेर लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखेपछि अख्तियारले अस्पताल प्रशासनसँग उपकरण खरिदका सबै फाइल र निर्णयहरू मागेको छ । अख्तियार स्रोतका अनुसार अस्पताल प्रशासनसँग खरिदसम्बन्धी सम्पूर्ण कागजात, फाइल र निर्णयहरू माग गरिएको हो ।

अस्पतालले कागजात दिन आलटाल गरिरहेको बताइएको छ । अस्पतालले कागजात दिन आलटाल गरे अख्तियारले छापा मारेर पनि कागजात नियन्त्रणमा लिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

निजामती कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष सरकारका मुख्य सचिव रहने व्यवस्था छ भने सदस्यहरूमा संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, कानुन न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सचिवहरू रहने व्यवस्था छ । सरकारका उच्च अधिकारीहरू सम्मिलित बोर्डमार्फत सञ्चालन भएको अस्पतालको खरिद प्रक्रिया नै अपारदर्शी रहनुलाई आश्चर्यका रूपमा हेरिएको छ ।

अख्तियारले अस्पतालको खरिद प्रक्रियाका बारेमा विभिन्न कोणबाट विश्लेषण थालेको छ । अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालले विभिन्न उपकरण खरिद गर्दा सेटिङका आधारमा गरेको पाइएको जनाइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्