Logo

कांग्रेस सांसदको कटाक्ष, ‘टोपबहादुरजी आईजीपी र ओलीजीसँग कुरा गर्दा गर्दै बाटैमा बिलाउनुभो’



काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई जोगाउन नलाग्ने स्पष्ट पारेका छन् ।
‘नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले पूर्ण सहयोग गर्छ । यसमा तेरो वा मेरो भन्ने कुरा छैन । संविधान र कानुनको परिधिमा टेकेर जोसुकैलाई कारबाही प्रक्रिया अगाडि बढाउन खुट्टा कमाउनु हुँदैन । हामी केपी ओलीलजस्तो खुलेआम भ्रष्टाचारी जोगाउन लाग्दैनौं । चाहे त्यो गृहमन्त्री होस् वा गृहमन्त्रीभन्दा माथिको मान्छे होस् । कसैलाई पनि छाड्नुहुन्न । शरणार्थी पनि नक्कली बनाउने यार !’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी प्रहरी महानिरीक्षक र पार्टी अध्यक्ष केपी ओलीसँग कुरा गर्दागर्दै बाटोमा बिलाएको भन्दै उनले व्यंग्य पनि गरे । खतिवडाले भने, ‘टोपबहादुरजी आईजीपी र पार्टी अध्यक्षसँग कुरा गर्दा गर्दै बाटैमा बिलाउनुभयो । उहाँले भाग्ने, लुक्ने र नेताको सोर्स लगाउने कुरा छाडेर सत्य तथ्य जनतालाइ भन्नुपर्थ्र्यो । कोही पनि देशलाई लुट्ने र चुस्ने काममा लाग्नुहुँदैन । ‘उनले नक्कली शरणार्थी प्रकरणमा लिएको कदमप्रति गृहमन्त्री र सरकारलाई धन्यवाद पनि दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन गरेपछि यो वा त्यो मन्त्रालय नभनीकन सामेल हुनुपर्नेमा उल्टो बाटो लिएको पनि खतिवडाले बताए । उनले भने, ‘दिगो राजनीति गर्नुपर्छ । आलोचनाले मात्र देश बन्दैन । एकैचोटि बुर्लुक बुर्लुक उफ्रेरमात्र हुँदैन ।’ रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु नपर्ने उनको जिकिर छ । उनले भने, ‘संसदमा आउनेबित्तिकै सत्तापक्षमा बसेकाले रास्वपासँग प्रतिपक्षको अनुभव छैन । रविजीले कसैलाई देखाइरहनु पर्दैन, काम गरे भइहाल्छ नि ।’
पार्टीमा मन्त्री बनाउँदा भएका कमीकमजोरी  सच्चाएर जानुपर्ने पनि सांसद खतिवडाले बताए । उनले भने, ‘अहिले समग्र राजनीतिप्रति वितृष्णा पैदा भएको छ । यस्तो अवस्थामा नेताहरुले खल्तीको मान्छे च्याप्ने काम छाड्नुपर्छ । कांग्रेस पार्टी सकियोस् भन्ने महामन्त्रीहरुको पनि छैन होला । सभापति र पूर्वप्रधानमन्त्रीको पनि छैन होला । त्यसैले गल्ती कमजोरी दोहोर्‍याउन कोही पनि लाग्नुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot