Logo

यस्तो छ नेपाली चलचित्रको व्यापार



काठमाडौं, २३ बैशाख । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ। यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ। चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोडभन्दा बढीको व्यापार गरेको छ। शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नार्इं नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा ‘नार्इं नभन्नु ल ६’ ले २५ लाख र ‘प्रसाद २’ ले ७० लाखको व्यापार गर्न सफल भएको छ। उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन्।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको छ।

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ। चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे। “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ”, बोर्डका सदस्य अधिकारीले भने।



प्रतिक्रिया दिनुहोस्