Logo

केकी अभिनित चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा



काठमाडौँ, १४ वैशाख । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनी स्वयं छिन् ।

चलचित्र क्षेत्रमा स्थापित नाम बनिसकेकी उनी उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बसेकी थिईन् । त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिएका हुन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक सङ्गालेकी हुन् ।

“मलाई त्यो भूमिका निर्वाह गर्नु थियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भनिन् । डेढ दशकपछि अडिसन दिनुको कारण उनलाई उक्त पात्रको भूमिका निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय नै थियो । कोरोना महामारी अगाडि उनले मण्डला नाटकघरमा नै उक्त नाटक हेरिन् । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गर्नुभएकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिईन् ।

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने उनलाई लागेको थिएन । त्यसपछि कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा अभिनेत्री अधिकारीले चलचित्र बनाउने सोच आउँदा ‘बोक्सीको घर’लाई भुल्न सकिनन् । पहिलो निर्माण गरेको चलचित्र भारतीय चलचित्रको नक्कल रहेको आरोप खेप्नुभएकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन्।

“मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर चलचित्र बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उनले सुरुमा अस्वीकार गर्नुभयो तर मैले निरन्तर प्रयास गरेर सहमत गराएँ । तर, उहाँले केही सर्त राख्नुभयो । सोही कारण मैले अभिनय यात्रा सुरू गरेको डेढ दशकपछि नयाँ झैँ सुरुआत गरेँ । कपालसमेत मुण्डन गरेकी थिएँ”, अभिनेत्री अधिकारीले भनिन्।

प्राय नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उनी अवगत नै छिन् । उहाँले पनि यस्तै भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यसैले पनि अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनुपर्छ भन्नेमा उनी स्पष्ट थिईन् ।

“धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका खेलेका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यही कारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै छन् । यो हाम्रो समाजमा भइरहेको तर हामीले ध्यान नदिएको कथा हो”, अभिनेत्री अधिकारीले भनिन्। चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायतका कलाकारले अभिनय गर्नुभएको छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot