Logo

अर्थ, खेलकुद र पर्यटन मन्त्रीलाई निवर्तमान एन्फा अध्यक्ष शेर्पाको १५ बुँदे सुझाव (पूर्णपाठसहित)



 

काठमाडौं,३१ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अर्थ, खेलकुद, शिक्षा र पर्यटनमन्त्रीलाई खेलकुदमार्फत समग्र देशको सामाजिक तथा आर्थिक विकासका लागि बजेट विनियोजन गर्न सुझाव दिएका छन्।

नेपाली फुटबलको सर्वोच्च निकायको चार वर्षे बागडोर सम्हालेका शेर्पाले आज अर्थ र खेलकुद मन्त्रालयमै पुगेर १५ वटा बुँदासहितको सुझाव पत्र बुझाएका हुन्।

यस्तो छ शेर्पाको सुझावको पूर्णपाठ

माननीय प्रकाशशरण महत ज्यू,
अर्थमन्त्री
माननीय डिगबहादुर लिम्बु ज्यू,
युवा तथा खेलकुद मन्त्री
माननीय …….. ज्यू,
शिक्षा मन्त्री
माननीय सुदन किराँती ज्यू,
नागरिक उड्डयन तथा पर्यटन मन्त्री

भनिन्छ, खेलकुद देशको ऐना हो। खेलकुदले कुनै पनि देशको वास्तविक मुहार अन्तर्राष्ट्रिय जगतसामू प्रदर्शन गर्छ। कुनै पनि देशको खेलकुदको अवस्था हेरेर त्यो देशको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सभ्यता, संस्कृति र संवृद्धिको मापन गरिन्छ। अर्थात खेलकुदमा अगाडि रहेको देश समग्रमै अगाडि रहन्छ। खेलकुदमा पछाडि परेको देशलाई अन्तर्राष्ट्रिय समुदायले पछौटे समाजका रुपमा चित्रण गर्ने गरेको पाइन्छ।

खेलकुद भनेपछि पक्कै पनि राष्ट्रिय गौरवको विषय हो। खेलकुदले नै अन्तर्राष्ट्रिय मञ्चमा देशको झण्डा गौरवका साथ उठाउने काम गर्छ। देशलाई एकताको सुत्रमा गास्ने सबभन्दा प्रभावकारी र सजिलो माध्यम खेलकुद हो। कतिपय देशमा खेलकुदकै कारण गृहयुद्ध समेत रोकिएका उदाहरण छन्। खेलकुद वा एउटा खेलाडीको स्टारडमले पूरा समाजलाई सकारात्मक बाटो देखाएका थुप्रै प्रमाण हामीसँग सुरक्षित छन्।

दशरथ रंगशालामा हुने फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमले खेल्दा, कीर्तिपुरको मैदानमा राष्ट्रिय क्रिकेट टिमले खेल्दा वा त्रिपुरेश्वरको कभर्डहलमा भलिबल वा कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलका राष्ट्रिय खेलाडी विदेशीविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा दशौं हजार नेपाली स्वयम उपस्थित भएर र करोडौं टेलिभिजनको पर्दाअगाडि बसेर नेपाली टिम र खेलाडीको सफलताको एउटै एजेन्डामा एकत्रित भएको हामीले देखेकै हो। नेपालको जितमा एकसाथ करोडौं हातहरुले झण्डा उचाल्दै खुसी मनाएको र असफलतामा एकसाथ छातीमा हात राखेका दृष्यको हामी सबै साक्षी छौं।

लामो समयदेखि राजनीतिक स्थिरताको अभियानमा लाग्दा हाम्रो देशमा समाजको सर्वाङगिण विकासमा दिनुपर्ने जति ध्यान दिन पाइएको थिएन। तर नेपालको संविधान २०७२ लागु भएपश्चात देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि सात दशकदेखिको राजनीतिक आन्दोलनले दीर्घकालिन गन्तव्य पाइसकेको छ।

राजनीतिक आन्दोलनले गन्तव्य प्राप्त गरिसकेपछि अबको बाटो आर्थिक क्रान्ति र समाजको सर्वाङगिण विकासको नै भएकोमा दुईमत हुन सक्दैन। संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनबाट निर्वाचित सरकार आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्ने तयारीमा रहिरहँदा खेलकुदमार्फत समग्र देशको सामाजिक तथा आर्थिक विकासका साथै नेपालीपनमा गौरवबोध गराउन सकिने केही सुझाव बुदागत रुपमै प्रस्तुत गर्न गइरहेको छु।

१.मदिरा, सुर्तीजन्य तथा स्वास्थ्यमा प्रत्यक्ष हानी हुने वस्तुहरुको विक्रीमा खेलकुद कर लगाई त्यसबाट उठेको रकम खेलकुदको विकास र प्रवर्द्धनमा लगाउन सकिन्छ। जसले गर्दा मदिरा, सुर्तीजन्य र अन्य स्वास्थ्यमा हानी गर्ने वस्तुको सेवनबाट राष्ट्रिय स्वास्थ्यमा परेको खराव प्रभाव खेलकुदको माध्यमबाट न्युनीकरण गर्न सकिन्छ। स्वस्थ्य र निरोगी नागरिक बनाउने राष्ट्रिय अभियानमा यसले ठूलो योगदान गर्न सक्छ।

२. खेलकुद शिक्षालाई विद्यालय स्तरबाटै अनिवार्य गरि विद्यालयको मापदण्ड निर्धारण गर्दा सम्बन्धित विद्यालयले खेलकुदलाई दिएको महत्वलाई पनि आधार बनाउनुपर्छ। कुनै पनि विद्यालयले खेलकुदको पूर्वाधार बनाएको छ कि छैन। विद्यार्थीलाई खेलकुदको प्राविधिक, सैद्धान्तिक र व्यवहारिक शिक्षा तथा प्रशिक्षणको व्यवस्था गरेको छ की छैन। खेलकुद शिक्षक तथा प्रशिक्षकहरुको व्यवस्था गरेको छ की छैन जस्ता विषय हेरेर सम्बन्धित विद्यालयको मापदण्ड निर्धारण गर्न सकिन्छ। यसो गर्दा सानै उमेरदेखि स्वस्थ्य र अनुशासित नागरिक उत्पादनको अभियानमा सहयोग पुग्नुका साथै खेलाडीहरुका लागि स्वस्फूर्त रुपमा रोजगारी सिर्जना हुनेछ। साथै प्रत्येक विद्यालयबाट नियमित रुपमा खेलाडी उत्पादन हुनेछन्। जसले भविश्यमा राष्ट्रिय टिमसम्म पुगेर अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उचो बनाउन सक्नेछन्।

३.पूर्वाधारविना खेलकुद विकासको कल्पना पनि गर्न सकिन्न। अन्तर्राष्ट्रिय स्तरमा सफल नतिजाको कल्पना गर्नका लागि पहिला खेलाडीलाई देशभित्र त्यस्तै पूर्वाधारमा खेल्ने र अभ्यास गर्ने सुविधा दिन सक्नुपर्छ। त्यसैले खेलकुदको पूर्वाधार व्यवस्थित गर्नका लागि तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ। खेल पूर्वाधार व्यवस्थित गर्न युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत पूर्वाधार महाशाखा वा खेलकुद पूर्वाधार विभाग बनाई स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका कामहरुलाई योजनाबद्ध र प्रभावकारी बनाउनु जरुरी छ। त्यस्तो महाशाखा वा विभागले देशैभरी हाल भएका विभिन्न खेलका पूर्वाधारको तथ्यांक संकलन गर्नेछ। त्यसपछि भुगोल, जनसंख्या र सम्बन्धित स्थानको सम्भावनालगायतका विषयमा विज्ञहरुबाट अध्ययनपश्चात नेपालमा कुन खेलका लागि कतिवटा र कहाँ कहाँ अन्तर्राष्ट्रिय स्तरका, कतिवटा र कहाँ कहाँ राष्ट्रिय स्तरका, कतिवटा र कहाँ कहाँ प्रदेश स्तरका, कतिवटा र कहाँ कहाँ स्थानीय स्तरका रंगशाला, कभर्डहल, वा मैदान आवश्यक छ भन्ने प्रतिवेदन तयार गर्नेछ। त्यसैको आधारमा उक्त महाशाखा वा विभागमार्फत स्थानीय तह, प्रदेश र संघीय सरकारका पूर्वाधार निर्माण तथा विकास योजनाहरु कार्यान्वयन गर्ने व्यवस्था गर्न सकिन्छ। यसो गर्दा कुनै पनि योजना दोहोरिने ९डुप्लिकेसन हुने० सम्भावना रहन्न र आवश्यक पूर्वाधारमात्र बन्ने, तर अनावश्यक रुपमा राष्ट्रिय बजेट खेर जाने सम्भावना रहन्न।

४.खेलकुदको विकास तल्लो तहबाटै सुरु भएर राष्ट्रिय स्तरमा पुग्ने हो। त्यसैले स्थानीय तहदेखि नै विकासक्रम सुरु गर्नु जरुरी हुन्छ। खेलकुद विकासका लागि मैदानमा खट्ने भनेकै राष्ट्रिय स्तरका क्लब, विभिन्न खेलका खेल संघ, स्थानीय तहदेखि प्रदेश हुँदै राष्ट्रिय स्तरका खेल गतिविधिहरु हुन्। खेलकुदको विकासका लागि सरकारी स्तरबाटै महत्वका साथ यस्ता संस्था र खेल गतिविधिलाई प्रवद्र्धन गर्नु आवश्यक छ। त्यसका लागि सरकारले व्यापारिक संस्थाहरुलाई खेलकुदमा प्रायोजन गरेवापत निश्चित कर छुटको व्यवस्था तथा व्यावसायिक सामाजिक जिम्मेवारी ९सिएसआर०को रकमलाई पनि खेलकुदमा लगानी गर्न मिल्ने वातावरण बनाउन सकिन्छ।

५. राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा नेपाली टिम वा खेलाडीको सहभागिता तथा देशमै त्यस्ता प्रतियोगिता आयोजनाका लागि प्रभावकारी तयारी आवश्यक हुन्छ। कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता तथा आयोजना गर्नुअघि पर्याप्त तयारी गर्न सकियो भनेमात्र देशको गौरव वृद्धि गर्न सकिन्छ। त्यसका लागि निश्चित मापदण्ड तोकी राजश्व विभागको निगरानीमा राफल वा चिटठा सञ्चालन गरि बजेट व्यवस्थापनको नीति बनाउन सकिन्छ।

६. देशभित्र हाल उपलब्ध खेलकुद पूर्वाधारहरुमा रात्रीकालिन प्रशिक्षणका लागि आवश्यक व्यवस्था मिलाउन सके स्वस्थ्य, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्न सकिन्छ। रात्रीकालिन प्रशिक्षणको व्यवस्था मिलाउन सकियो भने विभिन्न तहमा अध्ययनरन विद्यार्थीले पढाईमा बाधा नपर्ने गरि राति सुत्नुअघि खेलकुद प्रशिक्षण गर्न पाउनेछन्। जसले गर्दा दिनभर खाएको खाना पच्ने, राम्रो निद्रा लाग्ने र बिहान पूर्ण स्फूर्तिका साथ उठेर दिनको सुरुआत गर्न सक्ने हुनेछ। यसो हुँदा विद्यार्थीहरुको शारिरिक, शैक्षिक र बौद्धिक विकासमा ठूलो योगदान पुग्नेछ। त्यसैले युवा विकास परियोजनाका कार्यक्रमहरुलाई रात्रीकालिन प्रशिक्षणको रुपमा सञ्चालन गर्नु उचित देखिन्छ।

७. अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगिताहरुमा देशका लागि पदक जित्ने खेलाडीहरुलाई शैक्षिक योग्यता तथा उसले जितेको पदकको आधारमा सरकारका विभिन्न निकायहरुका साथै निजी व्यावसायिक प्रतिष्ठानहरुमा पनि खेलाडी कोटा नै निर्धारण गरि रोजगारीको ग्यारेन्टी गर्नुपर्ने देखिन्छ। यसबाट युवा पुश्तामा खेलकुदप्रतिको आकर्षण वृद्धि हुनेछ र राष्ट्रिय टोली निर्माणको आधार रहने पिरामिडको जग थप मजबुत हुनेछ।

८.कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुपूर्व लामो र प्रभावकारी तयारी जरुरी हुन्छ। त्यसक्रममा प्रशिक्षणमा रहेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले निर्धक्क भएर तयारी गर्न पाएमा राम्रो नतिजा आशा गर्न सकिन्छ। जसका लागि राष्ट्रिय टिममा परेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई कम्तिमा प्रशिक्षण भत्ता र प्रशिक्षण अवधिको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्ने देखिन्छ। यसो भएमा देशका लागि खेल्ने खेलाडीमाथि आर्थिक बोझ हुँदैन र उसले ढुक्कसँग तयारी गर्न सक्छ।

९. खेलको प्रकृतिअनुसार सबै खेलमा प्रत्येक उमेर समूहदेखि राष्ट्रिय टिमसम्म पुगेका खेलाडीका लागि नियमित प्रशिक्षण र प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्नेछ। यसो भएमा नेपाली खेलाडीहरुले भविश्यमा विश्व स्तरमा आफूलाई अब्बल साबित गर्न सक्नेछन्।

१०. संघ, प्रदेश र स्थानीय तहमा प्रशिक्षक र खेल व्यवस्थापकहरुको दरबन्दी सिर्जना गरि खेलकुद विकासका कार्यक्रमहरु दीर्घकालिन योजनासहित अगाडि बढ्नुपर्ने देखिन्छ।

११.शाहसिक खेलमार्फत खेल पर्यटन अगाडि बढाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु सरकारकै पहलमा वार्षिक रुपमा सञ्चालन गरेमा खेलका साथै नेपालमा पर्यटनको प्रवद्र्धन सहज ढंगले हुनेछ। र्याफ्टिङ, म्याराथन, कनोइङ, अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, साइक्लिङ, ट्रयथलनजस्ता खेलमा सरकारले आकर्षक पुरस्कारको व्यवस्था गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सके शौखिन विदेशी प्रतियोगीहरुको व्यापक सहभागिता हुने निश्चित देखिन्छ। जसले खेलकुदका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

१२. फुटबल देशको सबभन्दा लोकप्रिय खेल हो। यही खेलले नेपालको राष्ट्रिय एकता बलियो बनाउन योगदान गरेका थुप्रै अवसरहरु इतिहासको पानामा सुरक्षित छन्। आउँदा दिनमा पनि राष्ट्रियता प्रवद्र्धन र राष्ट्रियता एकता बलियो बनाउन फुटबलमा सरकारी लगानी बढाउनु आवश्यक छ। यो खेलमा ऐतिहासिक महत्व बोकेको सहिद स्मारक लिग नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको सर्वविधितै छ। लिगको ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरुले हजारौं खेलाडी, प्रशिक्षक र खेल व्यवस्थापकहरुलाई रोजगारी दिइरहेको हुँदा क्लबको आर्थिक स्थितीलाई सुधार गरि व्यावसायिक बनाउन सोझै सरकारी निकायबाट आर्थिक अनुदान वा नीतिगत रुपमै प्रायोजकको व्यवस्था गर्नु आवश्यक देखिन्छ।

१३. फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गर्नका लागि कम्तिमा दुईवटा आधुनिक अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउन सके खेलकुदका साथै पर्यटन विकासमा समेत ठूलो योगदान पुग्नेछ।

१४.पछिल्लो समय क्रिकेटले जुन उचाई हासिल गर्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उचो बनाएको छ। त्यसलाई अझ व्यवस्थित र संस्थागत गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माणमा तत्काल कदम चाल्नुपर्ने देखिन्छ। सरकारले विशेष महत्वका साथ तत्काल ठूला अन्तर्राष्ट्रिय स्तरका केही रंगशाला बनाउन सके भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका महारथी देशको खेल तटस्थ भूमिका रुपमा आयोजना गरेर ठूलो संख्यामा स्तरीय खेल पर्यटक भित्र्याउन सकिन्छ।

१५. सबै उमेर समूहका प्रतियोगिता तोकिएको समयमा गराउने, प्रशिक्षणलाई नियमितता प्रदान गर्ने, आर्थिक रुपमा सबै खेलका संस्थालाई सबल बनाउने साथै नेपालको राष्ट्रियताको विकास, अनुशासित नागरिक उत्पादन, नेपालको पहिचानलाई विश्वमा थप वृद्धि गर्ने, नेपाललाई पर्यटनको गन्तब्य बनाउने र सम्पूर्ण नागरिकमाझ नेपालीपनमाथि गौरवको महशुष गराउन खेलकुदको व्यवस्थित विकास अत्यावश्यक छ। त्यसका लागि माथि उल्लेखित सुझावलाई आगामी बजेटमा समावेश गर्नका लागि निवेदन गर्दछु।

जय नेपाल, जय नेपाली खेल

कर्मा छिरिङ शेर्पा

निवर्तमान अध्यक्ष,
अखिल नेपाल फुटबल संघ  file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot