Logo

भ्रष्टाचारीलाई जोगाए कांग्रेस स्यालको सिङ बन्ने खतरा हुन्छ : शिवाकोटी



काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वले आम नागरिक र कार्यकर्ताको भावना नबुझेको आरोप लगाएका छन् ।
‘बालकृष्ण खाँडलाई निलम्बन गर्ने वा नगर्ने व्यक्तिविशेषको कुरै होइन । कसैमाथि प्रश्न उठेपछि कानुनी निरुपण नहुन्जेल निलम्बन गर्नु नाजायज होइन । परम्परा खराब छ भने त्यो बदल्नैपर्छ । पार्टी नेतृत्वले साँघुरो घेरामा बसेर आम नागरिक र कार्यकर्ताले नरुचाएको कुरा गर्दै जाने हो भने त्यसले कांग्रेसलाई फाइदा हुँदैन । पार्टी स्यालको सिङ बन्ने खतरा हुन्छ । नेतृत्वले सीमित व्यक्तिको स्वार्थका निम्ति पार्टीलाई दाउमा राख्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
शिवाकोटीले खाँडलाई निष्कासन गर्नुपर्छ नभनेको पनि स्पष्ट पारे । उनले थपे, ‘हामीले कसैलाई निष्कासनको कुरा गरेका होइनौं, निलम्बनको कुरा गरेका हौं । अनुसन्धानका क्रममा निर्दोष ठहरिए ससम्मान कारबाही फिर्ता भइहाल्छ नि । तर भ्रष्टाचारी उम्किए भने जनताले हामीलाई छाड्दैनन् ।’
शिवाकोटीले पार्टी विभाजनको अप्रिय कल्पना नगरेको पनि बताए । उनले भने, ‘हामीले पार्टीलाई समयानुकूल सुधार गर्दै अगाडि बढाउने सोचेका छौं । त्यसलाई पार्टी विभाजन भन्नु अतिरञ्जित कुरा हुन्छ । विपक्षी नेताहरुले पनि यस्तो दिवास्वप्न नदेखे हुन्छ ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली नेता टेकनाथ रिजालको पक्राउ दुःखलाग्दो भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्