Logo

अब प्रधानमन्त्री, मन्त्रीहरूले पनि राष्ट्रपतिको अनुसरण गर्नुपर्छ : कांग्रेस नेता



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले हिजो संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा उत्साह थपेको बताएका छन् ।
‘सेतो हात्ती बनिरहेका नचाहिने संरचना खारेजीको कुरा आएको छ । फजुल खर्च घटाउने भनिएको छ । तीनै तहको सरकारको समन्वयमा कृषिलगायत उत्पादन बढाउने भनिएको छ । महावीर पुनसँग इन्नोभेसनमा सहकार्य, स्टार्टअपलाई प्रोत्साहन अनि तयारीबिनाका आयोजनामा बजेट नछुट्टाउने घोषणा स्वागतयोग्य छ । नीति र कार्यक्रमको डिरेक्सन राम्रो छ । यो व्यावहारिक छ । यसले जनतामा उत्साह थपेको छ । यसनिम्ति सरकारलाई धन्यवाद नै दिनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । विपक्षीले सरकारका कमीकमजोरीमा प्रश्न उठाउनु स्वाभाविक भएको उनको कथन छ ।
डा. पोखरेलले नीति तथा कार्यक्रमको कार्यान्वयन सबभन्दा महत्त्वपूर्ण पक्ष रहेको पनि औंल्याए । उनले भने, ‘नीति तथा कार्यक्रमले सल्लाहकार लगायत अन्य तामझाम घटाउने कुरा गरेको छ । निजी क्षेत्रका निम्ति माहोल बनाउने भनिएको छ । भनिएका सबै कुरा बजेटमा आउनुपर्छ । सुशासनको पाटोलाई लयमा ल्याएको छ । तर यसको इमानदारीपूर्वक कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो । यसनिम्ति प्रतिपक्षले प्रतिपक्षले घचघचाइरहनुपर्छ । अब लोकरिझ्याइँ छोडेर स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारमा लगानी गर्छौं भन्ने बजेट नआई सुखै छैन ।’
हिजो राष्ट्रपति रामचन्द्र पौडेलको तामझामबिनाको संसद सवारीले समाजमा धेरै सन्देश दिन सफल भएको पनि डा. पोखरेलको टिप्पणी छ । उनले भने, ‘कम्युनिस्ट भनेको ढोंगी चरित्र हो । आखिर चाह्यो भने त हुँदो रहेछ नि । जनतालाई दुःख दिन सिर्जना गरिएको पद त होइन नि राष्ट्रपति । यो जनताको मन बुझ्ने र कुरा सुन्ने गतिविधि हो । अब प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरुले पनि यसको अनुसरण गनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्