Logo

‘हुक्काः एन एब्सर्ड ड्रिम’का निर्देशक थापा भन्छन् : हुक्काबाट सुरू भएर हुक्कामै सकिन्छ



काठमाडौं, १० जेठ । नाटक, टेलिफिल्म निर्देशन र फिल्ममा सहायक निर्देशनको अनुभव संगालिसकेका शम्भु थापा आफ्नो पूर्ण निर्देशकीय फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ लिएर यही शुक्रबार अर्थात् १२ जेठबाट दर्शकमाझ आउँदैछन्।

अघिल्लो फिल्म ‘धौली’मा निर्मातासँगै मुख्य सहायक निर्देशनको अनुभव लिएका शम्भुलाई पूर्ण निर्देशकीय क्षमता देखाउन उत्साह र चुनौती दुवै उत्तिकै थियो। तर, दुवै कुरा उनले सजिलै पूरा गरे।

‘मेरो रुची फिल्म निर्माण नै हो। तर कतिपय अवस्थामा हामीले भनेजस्तो नहुने रहेछ। ‘धौली’ टिमसँग मिलेर पुनः फिल्म बनाउने योजना बनाएपनि आफूले सोचे अनुसार हुन सकेन। त्यसपछि आफैं निर्देशनमा अघि सरें,’ शम्भु भन्छन्, ‘हुक्काः एन एब्जर्ड ड्रिम गाउँले परिवेशमा निर्माण गर्नुपर्ने थियो। हामीले नजिकका निर्देशकसँग पनि कुरा गरेको हो। तर उहाँहरु अन्य काममा व्यस्त रहेकाले हामीलाई समय दिन सक्नुभएन।’

कथावस्तु
शम्भुको बुझाइमा फिल्मको नाममा मानिसको आ–आफ्नो बुझाई भए पनि यसको विषयवस्तु फरक छ। ‘हुक्काः एन एब्जर्ड ड्रिमले एउटा मनोविज्ञान बोकेको छ। फिल्म हुक्काबाट सुरु भएर हुक्कामा नै सकिन्छ। फिल्मले एउटा आडम्बर पनि देखाउँछ’, शम्भु खुल्छन्, ‘अग्रजले जानेर वा नजानेर गरेका कामले बालबालिकाको मानसपटलमा कस्तो प्रभाव पार्छ। त्यसले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा फिल्ममार्फत देखाएका छौं।’

शम्भुले दर्शकले फिल्म हेरिरहँदा पर्दामा देखिएका पात्रसँग आफूलाई जोड्ने दाबी गरे। उनले अग्रजले बच्चाको अगाडि हुक्का खाँदा बच्चाको दिमागमा पर्ने मनोवैज्ञानिक असरलाई देखाउने बताए।

शम्भुका अनुसार फिल्ममा अभिनेत्री प्रमिलालाई सशक्त रुपमा चित्रण गरिएको छ। फिल्ममा प्रमिलाको निडर, सक्षम र आँटिलो चरित्रले समाजका महिलालाई सकारात्मक उत्प्रेरणा दिने शम्भुको बुझाइ छ।

पात्र छनोट
फिल्मका लागि पात्र छनोटको काम अभिनेता सन्तोषकुमार आत्रेय, शम्भु र मुख्य सहायक निर्देशक भगवान पौडेलले गरेका हुन्। शम्भुका अनुसार फिल्मको स्क्रिप्ट लक भएपछि कलाकारको प्रोफाइल तयार पारेर छनोट गरिएको थियो। ‘हामीले अडिसन लिने पनि काम गर्यौं। धेरै जना अडिसनका लागि आउनुभएको थियो। कतिपयले भने अडिसन दिन गाह्रो मान्नुभयो,’ शम्भु भन्छन्, ‘हामी सकेसम्म थिएटरकै कलाकार लिने सोचमा थियौं। पोखरामा पनि थिएटर छ। त्यहाँ पनि हामीले समन्वय गर्यौं। पुराना र नयाँ कलाकारलाई राख्दा तालमेल मिलाउन गाह्रो हुने भएपनि नयाँ कलाकारलाई प्राथमिकता दियौं। नयाँ कलाकार राख्दा उनीहरुलाई हौसला मिल्ने र दर्शकले पनि अर्ग्यानिक कथाको स्वाद पाउने निश्कर्षमा पुग्यौं।’

दर्शक सर्वे
यो फिल्मका लागि निर्माण पक्षले दर्शक सर्वे पनि गरेको थियो। निर्देशक थापाले कन्टेन्ट अनुसार फिल्ममा कस्तो कलाकार राख्दा राम्रो हुन्छ भनेर सर्वे गरेको खुलाए। ‘कन्टेन्ट राम्रो छ भने नयाँ कलाकारहरुलाई लिएर बनाएको फिल्मले पनि राम्रो व्यापार गर्छ भन्ने उदाहरण नेपालमा छ।

त्यस्ता फिल्मले राम्रो प्रतिक्रिया पनि पाएको छ। त्यहीकारण दर्शक सर्वे गरेका थियौं,’ उनले भने।

लक्षित दर्शक
निर्देशक थापा आफ्नो फिल्म सबै वर्गका दर्शकले हेर्नुपर्ने धारणा राख्छन्। ‘हाम्रो फिल्म कलेजका विद्यार्थी, समाजका प्रतिष्ठित व्यक्ति र राजनीतिक व्यक्तिसँगै सरकारले पनि हेर्नुपर्छ। फिल्म हेरेपछि सरकारलाई पनि समाजको वास्तविक अवस्था र हाम्रो आर्थिक अवस्था सुधार्नका लागि धेरै सहज हुन सक्छ,’ शम्भुको दाबी छ।

नाटक हुँदै फिल्ममा शम्भु
शम्भु २०५१ सालदेखि पोखरामा नाट्य गतिविधिमा सक्रिय थिए। उनले पोखरामा सडक नाटकमात्र देखाएनन्, टेलिफिल्म पनि निर्माण गरे। बाहिरबाट आएका व्यक्तिहरुसँग वृत्तचित्र बनाउनेदेखि सुटिङका लागि काठमाडौंबाट आउने समूहको व्यवस्थापनको काम पनि गरे।

शम्भुले मनोजबाबु पन्तबाट निर्देशन र प्राविधिक ज्ञान धेरै जानकारी लिए। उनले फिल्मका कार्यशाला मात्र गराएनन्, त्यो बेलाको फिल्म सोसाइटीसँग आबद्ध भएर निर्देशनदेखि अन्य गतिविधिहरुमा सक्रिय रहे। उनले प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँलगायतका फिल्मकर्मीबाट निर्देशकीयदेखि फिल्म निर्माणको तरिका बुझे।



प्रतिक्रिया दिनुहोस्

Screenshot