Logo

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत



काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा महतले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका हुन् ।

“केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ”,उनले भने । निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ ।

अर्थमन्त्री डा महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे । “हाम्रा आकाङ्क्षाहरु धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ”,उनले भने ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहका डा महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए । पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो ।

उनले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए । पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उनको भनाइ छ । व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने डा.महतले बताए । रासस file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot