Logo

जनमतका नेता सिंह भन्छन्, ‘समाजवादी मोर्चा सत्ता टिकाउने वातावरणमात्रै हो’



काठमाडौं, ६ असार । जनमत पार्टीका महासचिव तथा मधेश प्रदेश सभा सदस्य चन्दन सिंहले कम्युनिष्टहरु समाजवादी हुननसक्ने बताउँदै अहिलेको समाजवादी मोर्चाको कुनै औचित्य नरहेको बताएका छन् । उनले समाजवादी मोर्चालाई केवल ‘कम्युनिष्टहरुको झुण्ड’ को संज्ञा दिएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको समाजवादी मोर्चा कुनै वैचारिक र सैद्धान्तिक हिसाबमा नबनेर केवल सत्ता टिकाउनका लागि बनेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सत्ता संकटमा परेको बेला मोर्चाको अवधारणा अगाडि ल्याउने गरेको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डले यसभन्दा अगाडि दुई पटक समाजवादी मोर्चा बनाउने कोशिस गरेपनि त्यो सम्भव नभएको र तेस्रो प्रयासमा उनी सफल भएको सिंहले बताए ।

‘त्यो समाजवादी मोर्चा हो भन्ने लागेको छैन । कम्युनिष्टहरुको झुण्ड थियो । एकता हुन गएको छ । कु्नै बेला सबै एउटै हुनुहुन्थ्यो । फेरि एक हुन भएको छ । कही न कही गन्ध पाउनु भएको होला, त्यो हिसाबले एकतित हुनु भएको छ । मलाई लाग्छ, समग्रमा भन्दा सत्ता टिकाउने वातावरण हो ।’ उनले भने, ‘प्रचण्डजी जहिले पनि आफ्नो सत्ता टिकाउनका लागि यो रणनीति अपनाउनु हुन्छ । पहिले पनि सत्ता टिकाउनका लागि उहाँले बारबार कोशिस गरेकै हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot