Logo

समाचारलाई लिएर केन्द्रीय कारागार कार्यालयको खण्डन, नियमविपरीत कुनैपनि कार्य नभएको दाबी



काठमाडौं, १४ असार । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंले रिपोर्टर्स नेपाल डटकममा प्रकाशित ‘जेलर बस्नेतमाथि अवैध धन्दाको संरक्षक बनेको आरोप, कैदी बन्दीलाई जबरजस्ती खुवाईन्छ लागूऔषध र मदिरा’ भन्ने शीर्षकको समाचारप्रति खण्डण सार्वजनिक गरेको छ । २०८०/०३/०६ गते प्रकाशित उक्त समाचारलाई लिएर केन्द्रीय कारागारले खण्डन गरेको हो ।

कारागारको कार्य सम्पादन कारागार ऐन, २०७९, कारागार नियमावली २०२०, कारागार व्यवस्थापन कार्यविधि २०७३ तथा अन्य प्रचलित कानुन तथा निर्देशन बमोजिम हुने र आन्तरिक प्रशासन संचालन गर्न बरिष्ठताको आधारमा चौकीदार नियुक्ति हुने गरेको खण्डणमा उल्लेख छ ।

कारागारभित्र लागूऔषध तथा मदिराको बेचबिखन नभएको, कारागारभित्र जुनसुकै समयमा पनि अनुगमन र निरीक्षण गर्ने गरेको कुनै पनि निषेधित बस्तु फेला नपरेको उल्लेख छ । सुर्तिजन्य वस्तु विक्रि वितरण भने कारागारमा पहिलादेखि नै दिइदै आएको र चुरोट सेवनकर्ताहरूले कारागारभित्र रहेको निश्चित एरिया (स्मोकिङ जोन) मा प्रेश गरेरमात्र सेवन गर्नुपर्ने व्यवस्था रहेको रहेको बताइएको छ ।

कारागारभित्र रहेका बन्दीहरुको खुल्ला बजारमा सम्पर्क नहुने भएकाले उनीहरुको आवश्यकताका लागि कम्पाउण्डभित्र कैदी बन्दीहरुले तरकारी तथा खाद्यान्न पसल सञ्चालन गरेको उल्लेख छ । पसलमा मूल्य सूची सबैले देख्नेगरि राख्ने व्यवस्था रहेको र समय–समयमा कारागार प्रशासनबाट अनुगमन गर्ने काम भइरहेको र मूल्यसूची अस्वभविक देखिएको खण्डमा तत्काल समायोजन गर्न लगाउने गरिएको उल्लेख छ ।

कैदीबन्दीलाई कारागारबाट कुनै पनि शारीरिक र मानसिक यातना दिन निर्देशन नदिने गरिएको बताईएको छ । सम्झाउदा बुझाउदासमेत बानी व्यवहारमा सुधार नआएमा कारागारको शान्ति सुव्यवस्थामा असर पार्ने सम्भावना देखिएमा सजायस्वरुप कारागार स्थानान्तरण गरिने गरिएको र यस्तो प्रकारको सजाय नभएको कारागार प्रशासनले प्रष्ट पारेको छ ।

कैदीबन्दीको रकम नेपाल प्रहरीले कारागारको गेटबाट रसिद काटेर पठाउने व्यवस्थापन पहिला देखिनै हुदै आएको बताइएको छ । दश हजार भन्दा बढी रकम पठाउन चाहनेको हकमा सो रकमको औचित्य र आवश्यकता हेरी बुझी आवश्यक भएमामात्र कारागार प्रशासनको अनुमतिमा पठाइने र त्यसरी पठाईएको सबै रकमको अन्तरिक प्रशासनले अभिलेख व्यवस्थापन गरेर पठाउने व्यवस्था रहेको रहेको उल्लेख छ । कारागारभित्र कुनै प्रकारको लेनदेन नगर्ने नगराउने भनि कारागार प्रशासनले बारम्बार निर्देशन दिने गरेको र सामान्य सरसापट बाहेकको लेनदेन नहुने गरेको र मिटरव्याज उठाएको कुरामा सत्यता नरहेको कारागार प्रशासनको दाबी छ ।

कैदीबन्दीहरुको खेलकुद तथा मनोरन्जनका लागि भलिबल, फुटसल, वास्केटबल, क्रिकेट पुल हाउस क्यारामवोर्ड, लुडो जस्ता खेल खेल्न र खेलाउन अनुमति दिईएको बताइएको छ । यस्ता खेल खेल्दा कुनै प्रकारको बेट नराख्न कारागार प्रशासनबाट समय–समयमा निर्देशन दिने गरिएको र हालसम्म कारागार प्रशासनमा यस्तो गुनासो नै नआएको उल्लेख छ ।

सेटअप बक्स वितरणमा अनियमितता सम्बन्धमा यसको जिम्मा लाईब्रेरी नाईके गंगा लामा जिम्बालाई दिईएको उल्लेख छ । गंगा लामा लगायत चौकिदार बहिदारलाई कार्यालयमा बोलाई सोधखोज गर्दा कारागारमा चार सय थान टिभी सञ्चालनमा रहेको जानकारी भएको र सोबाट उठाईएको रकममध्ये म्याक्स टि.भी. लाई तिरेर बाँकी रहेको रकम आन्तरिक भलाई कोषमा राखिएको जानकारी भएको बताइएको छ ।

उक्त कोषबाट आन्तरिक सरसफाई, बिरामी कैदी बन्दीहरुको पौष्टिक आहार, थुना मुक्त भएर घर जान बेखर्ची भएकाहरुलाई आवश्यक खर्च, कारागारभित्र खेलमैदान निर्माण तथा मर्मत शौचालय सरसफाई लगायत अन्य विभिन्न सार्वजनिक भलाई कार्यमा खर्च भएको जवाफ आएको खण्डणमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्